कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरू हुँदै

विराटनगर : कोशी प्रदेशसभाको सातौं तथा बर्खे अधिवेशन आज आइतबारबाट सुरू हुँदै छ। प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिए।
बजेट अधिवेशन समेत भनिने यो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा प्रस्तुत गरिनेछ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन्। बैठकमा प्रदेश सरकारले ल्याएको ‘प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ पनि टेबुल गरिने तयारी छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार आगामी आर्थिक वर्षमा सरकारको पर्यटन वर्ष तथा लगानी सम्मेलनलाई केन्द्रमा राखेर नीति कार्यक्रम र बजेट प्रस्तुत हुने तयारी रहेको छ। ‘पर्यटन वर्षलाई प्राथमिकतामा राख्ने नै भयौँ। त्यसका साथै निजी लगानीलाई समेत आकर्षित गर्ने कार्यक्रम पनि समावेश गर्नुपर्ने हुन्छ।’ उनले भने।
प्रदेश सरकारले आफ्नो क्षमता अनुसारका बहुवर्षीय योजना सञ्चालन गर्नुका साथै, कृषि क्षेत्रको व्यवसायीकरणको कार्यक्रमलाई समेत प्राथमिकीकरण गर्ने उनको भनाई छ। उनले थपे,‘भौतिक विकास र औद्योगिक विकासका सन्दर्भमा पनि नीति कार्यक्रममा प्राथमिकतामा पर्ने कुरालाई हामी छलफलका साथ प्रस्तुत गर्छौँ।’
नीति र कार्यक्रम पछि खासगरी प्रदेशको प्रोजे ट असार १ गते प्रदेश सभामा पेस गरिन्छ। हाल कोशी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार रहेको छ भने सरकारमा नेपाली काङ्ग्रेससमेत सहभागी छ।
जेठ ४, २०८२ आइतबार १०:०६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।