इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

इरान : इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई मृत्युदण्डको सजाय सुनाएको छ। अल्लाहलाई निन्दा गरेको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो।

सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भने, ‘यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ ।’

उनले भने, ‘पप गायक तातालुका वकिलले पुन सुनुवाई र क्ष्मादानका लागि दुई अनुरोधहरू दायर गरेका छन्र यो हाल पुनरावलोकनको क्रममा छ ।’

‘यी अनुरोधहरू औपचारिक रूपमा दर्ता भएका छन् र पुनरावलोकनको क्रममा छन्,’ जहाँगीरले भने, ‘उचित समयमा निर्णय घोषणा गरिनेछ।’

जहाँगीरले पहिलो पटक जनवरीमा मृत्युदण्डको घोषणा गरेपनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए। 

इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। उनले अहिले उक्त सजाय भुक्तानी गरिरहेका छन्। 

तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग रहेको थियो। 

सन् २०१५ मा उहाँले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए ।

पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए।

जेठ ३, २०८२ शनिबार २०:२७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।