बैतडीमा दुई जनामाथि खुकुरी प्रहार

बैतडी : बैतडीमा खुकुरी प्रहारबाट दुई जना महिला घाइते भएका छन्। बैतडीको पुर्चौंडी नगरपालिका–६ का स्थानीय २० वर्षीय धनवीर धानुकले आज बिहान ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरे।
प्रहरीका अनुसार बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपतीको बायाँ कानमा गहिरो चोट लागेको छ। घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।
धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएअनुसार धनवीरको बिखमतीका नाति दिनेश धानुकसँग लामो समयदेखि घरायसी विवाद चलिरहेको थियो।
बिहान दिनेशलाई खोज्दै घर गएका धनवीरले उनी घरमा नभेटिएपछि वृद्ध बिखमती र दुरोपतीमाथि आक्रमण गरेका हुन्।
जेठ ३, २०८२ शनिबार १८:३४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।