परराष्ट्रमन्त्री देउवा र जापानी उपविदेशमन्त्रीबीच भेट

परराष्ट्रमन्त्री देउवा र जापानी उपविदेशमन्त्रीबीच भेट

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेट सगरमाथा संवाद २०२५ को सन्दर्भमा भएको हो।

भेटमा मन्त्री राणाले सिन्धुली–बर्दिवास सडक पुनर्निर्माणमा जापानले गरेको सहयोगप्रति आभार व्यक्त गरिन्। विगत वर्षको अविरल वर्षाले सो सडकमा ठूलो क्षति पुर्याएपछि नेपाल सरकारले पुनर्निर्माणका लागि जापान सरकारसँग सहयोग अनुरोध गरेको थियो। त्यसअनुसार जापानले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त भेटमा दुई देशबीचको समग्र सम्बन्ध, आर्थिक र सामाजिक क्षेत्रका साझेदारी लगायतका विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री राणाले नेपालमा जापानले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति पनि धन्यवाद व्यक्त गरिन्।

जलवायु परिवर्तनको विषयमा समेत कुराकानी भएको थियो। मन्त्री राणाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउँदै आएको “जलवायु न्याय”को पक्षमा जापान सरकारलाई ऐक्यबद्धता जनाउन आग्रह गर्दै सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्।

जेठ ३, २०८२ शनिबार १५:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।