हिमाली क्षेत्रमा जलवायुको प्रभाव धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण

काठमाडौं : हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएपछि त्यस क्षेत्रका असरबारे स्पष्ट अनुसन्धान र क्षतिपूर्तिका लागि विश्व समुदायको ध्यानाकर्षण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिए।
सगरमाथा संवाद २०२५ को दोस्रो दिन "हिमाली क्षेत्रमा हानि र नोक्सानी सम्बोधन" विषयक सत्रमा वक्ताहरूले जलवायु परिवर्तनबाट सिर्जना हुने जोखिम न्यूनीकरणका लागि नीति, कोष र पहुँचलाई प्रभावकारी बनाउनुपर्ने बताए।
हानि तथा नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा शेख डिओङको मुख्य प्रस्तुति रहेको सत्रमा डा. अरुणभक्त श्रेष्ठ (इसिमोड), डा. अनिलकुमार गुप्ता (भारत), राजेश शर्मा (युएनडिपी, थाइल्याण्ड) र मौरिन सान्टोस (हेनरिक बोल फाउन्डेसन, ब्राजिल) ले आ-आफ्ना अनुभव प्रस्तुत गर्दै हिमाली भेगका चुनौती र समाधानका सम्भावनाबारे धारणा राखेका थिए।
वक्ताहरूले जलवायु परिवर्तनले निम्त्याएको बाढी, डढेलो, पहिरो, हिमनदी ताल विस्फोट, तातो लहर जस्ता चरम मौसमी घटनाहरूले नेपाललगायत हिमाली राष्ट्रहरूमा ठूलाे क्षति पुर्याइरहेको भन्दै क्षतिपूर्ति कोषसम्म सहज पहुँच आवश्यक रहेको औंल्याए।
विकासशील राष्ट्रहरूको पहलपछि कोप २७ मा स्थापना भएको ‘हानि र नोक्सानी कोष’ कोप २९ बाट सञ्चालनमा आएको हो। तर, कोषमा पहुँच प्रक्रिया जटिल भएकाले प्रभावित समुदायले समयमा सहायता नपाएको गुनासो बढेको छ।
नेपालले हानि-नोक्सानीलाई राष्ट्रिय रूपमै समेट्दै तेस्रो राष्ट्रिय निर्धारण योगदान (एनडीसी) मा समावेश गरिसकेको छ।
जेठ ३, २०८२ शनिबार १५:१५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।