बिना सूचना विद्युत् छोड्दा खम्बामा चढेका मजदुरको ज्यान गयो

बिना सूचना विद्युत् छोड्दा खम्बामा चढेका मजदुरको ज्यान गयो

काभ्रे : धुलिखेल नगरपालिका-७ मा आज बिहान करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तार गरिएको लाइनमा काम गरिरहेका बेला घटना भएको हो।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथाका २८ वर्षीय उपेश परियार विद्युत्को खम्बामा चढेर तार जोड्ने काम गर्दै थिए। बिहान ११:३० बजे ११ हजार भोल्टको हाइटेन्सन लाइनमा करेन्ट लाग्दा उनले ज्यान गुमाए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनले काम गरिरहँदा सूचनाबिना नै लाइनमा विद्युत् प्रवाह हुँदा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। यो घटनाको थप छानबिनका लागि प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको नेतृत्वमा टोली खटाइएको जानकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले दिएका छन्।

बनेपास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले शुक्रबार मात्रै सूचना निकालेर शनिबारदेखि उक्त क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको थियो। 

परियारको शवलाई खम्बाबाट निकालेर परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ। यो घटना विद्युत् प्राधिकरणको लापरबाहीका कारण भएको भन्दै स्थानीयस्तरमा आक्रोशित भएका छन्। 

जेठ ३, २०८२ शनिबार १४:५६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।