सर्लाहीमा हुरीले छ जना घाइते, घर र सवारी साधनमा क्षति

सर्लाहीमा हुरीले छ जना घाइते, घर र सवारी साधनमा क्षति

बरहथवा : शुक्रबार साँझ आएको हुरीका कारण सर्लाही जिल्लाको विभिन्न स्थानमा छ जना घाइते भएका छन्। हुरीका कारण घर, पसल, सवारी साधन लगायतको संरचनामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्रनाउ) सरोज राईका अनुसार हुरीले विशेषगरी कच्ची घर र रूखहरूमा क्षति पुर्याएको छ।

बकाइनोको रूख भाँचिँदा बागमती नगरपालिका–२ धरहराका करिब ३८ वर्षीय नवराजराय क्षेत्री घाइते भएका हुन्। ढाडमा चोट लागेका क्षेत्रीलाई नमुना अस्पताल हरिवनमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको छ। उनी बारीमा काम गरिरहेका बेला रूख भाँचिएको हो।

त्यस्तै, हरिपुर्वा नगरपालिका-६ की ५० वर्षीया सुमीदेवी हुरीले छत उडाउँदा लडेर घाइते भएकी छन्। हात, मुख र आँखामा चोट लागेकी सुमीदेवीको प्रारम्भिक उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको छ भने अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

हरिवन नगरपालिका-५ घुर्कौलीका १८ वर्षीय बलिराम महतो र ५२ वर्षीय गङ्गाराम महतो पनि हुरीले भाँचिएको रूखको हाँगा लाग्दा घाइते भएका छन्। उनीहरू हरिपुर नगरपालिका-२ सानो जगतपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकल चलाइरहेका बेला रूखको हाँगा खस्दा घाइते भएका हुन्।

त्यसैगरी, घुर्कौलीकी ७५ वर्षीया दलेमुन खातुन जस्ता पाताको चोटबाट घाइते भएकी छन्। हुरीका बेला घरमै रहेको किराना पसलमा बसिरहेकी खातुनको दायाँ आँखामा चोट लागेको छ। उनको उपचार नमुना अस्पताल हरिवनमा भइरहेको छ।

हुरीले गोडैता नगरपालिका-१२ स्थित मधुवनी गाउँको चोकमा रहेको होटलमा पनि क्षति पुर्याएको छ। सोही स्थानका मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले निर्माण गरेको काठ र फुसको घरमा रामनगर गाउँपालिका–७ का उमेश साहले सञ्चालन गरिराखेको होटलमा झन्डै ६० हजार रुपैयाँ बराबरको क्षति भएको हो।

त्यस्तै, हरिवन नगरपालिका-११ स्थित इलाका प्रहरी कार्यालयको पार्किङ क्षेत्रमा लडेको रूखले कार्यालयको बा एएसी ३४०९ नम्बरको मोटरसाइकलसहित अनुसन्धानका लागि राखिएका दुईवटा मोटरसाइकलमा क्षति पुर्याएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत ईश्वरपुर नगरपालिका-१२ मा पनि हुरीका कारण रूख ढल्दा सवारी दुर्घटना भएको छ। सडकमा ढलेको रूख छल्न खोज्दा बाँकेबाट लालबन्दीतर्फ जाँदै गरेको मधेस प्रदेश-०४-००१ च ०२७७ नम्बरको पिकअप गाडी सडकछेउमा पल्टिएको थियो।

दुर्घटनामा पिकअप चालक पर्सा गाउँपालिका-४ का ३५ वर्षीय राजनारायण महतो घाइते भएका छन्। उनको हातको औँलामा चोट लागेको छ र हाल लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

जेठ ३, २०८२ शनिबार १३:४०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।