युक्रेनमा यात्रु बसमा रुसी ड्रोन आक्रमण, नौ जनाको मृत्यु

एजेन्सी : उत्तरपूर्वी युक्रेनमा यात्रु बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको छ। यो जानकारी त्यहाँका स्थानीय अधिकारीहरूले दिएका छन्।
सुमी क्षेत्रीय सैन्य प्रशासनले शनिबार बिहान बिलोपिलिया शहरमा भएको आक्रमणमा अन्य चार जना घाइते भएको जनाएको छ।
२०२२ पछि पहिलो पटक रुस र युक्रेनले शान्तिको लागि प्रत्यक्ष वार्ता गरेको केही घण्टापछि यो कथित आक्रमण भएको हो।
‘बिलोपिलिया नजिकै शत्रुको ड्रोनले यात्रु बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्’, सुमी क्षेत्रीय सैन्य प्रशासनले टेलिग्राममा पोस्ट गर्दै भनेको छ।
यद्यपि, रुसी सेनाले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
शुक्रबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको वार्ता यो युद्ध कसरी अन्त्य गर्ने भन्ने बारेमा निष्कर्षमा पुग्न असफल भयो।
यद्यपि, आगामी दिनहरूमा दुवै पक्षले एक-अर्कालाई एक हजार युद्धबन्दी फिर्ता गर्ने सहमति भएको थियो।
फेब्रुअरी २०२२ मा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पूर्ण स्तरमा आक्रमण सुरु गरे।
जेठ ३, २०८२ शनिबार १३:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।