१३ महिनामा २१२ फिल्मले लिए निर्माण इजाजत

१३ महिनामा २१२ फिल्मले लिए निर्माण इजाजत

काठमाडौं : नेपाली फिल्म उद्योगमा अहिले निर्माणको चटारो छ। चलचित्र विकास बोर्डबाट एक वर्षको अवधिमा २१२ वटा फिल्मले निर्माणका लागि इजाजत पत्र लिएका छन्। इजाजत पत्र लिने यो संख्याले आगामी दिनमा प्रदर्शनमा आउने फिल्मको संख्या उल्लेख्य बढ्ने र उद्योग थप चलायमान हुने संकेत गरेको छ।

हाल नेपाली फिल्मकर्मीहरू कि त फ्लोरमा नै व्यस्त छन् कि त पोस्ट-प्रोडक्सनमा। चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार, पछिल्लो १३ महिनामा  (२०८० वैशाखदेखि २०८१ वैशाख मसान्तसम्म) दुई सय १२ वटा फिल्मले निर्माणका लागि इजाजत पाएका छन्।

अघिल्लो वर्ष नै दर्ता भएका केही फिल्मका छायाङ्कन अझै नसकिएको अवस्थामा नयाँ फिल्म धमाधम इजाजत लिएर बन्ने क्रममा जारी छ। यसले प्रदर्शनको लागि फिल्मले मिति पाउन मुस्किल पर्ने देखिन्छ।

गत वर्ष इजाजत लिएका दुई सय १२ फिल्ममध्ये केही प्रदर्शन भइसकेका, केही प्रदर्शनको तयारीमा र केहीको काम सुरू हुन अझै बाँकी छ। २०८० सालमा ५३ वटा फिल्म मात्र हलमा प्रदर्शन भएको आँकडा छ। यसले पनि इजाजत लिएका डेढ सयभन्दा धेरै फिल्म प्रदर्शन नभएको देखाउँछ।

इजाजत लिनेको चाप
बोर्डको तथ्याङ्क अनुसार, निर्माण इजाजत लिने फिल्मको संख्या मासिक रूपमा फरक-फरक रहेको छ। गत वर्ष मंसिर महिनामा सबैभन्दा बढी २७ वटा फिल्मले निर्माण इजाजत लिएका थिए भने असोजमा सबैभन्दा कम फिल्मले निर्माणका लागि इजाजत लिएका थिए। साउनमा भने नौ वटा फिल्मले इजाजत पत्र लिएको तत्थाङ्क छ।

२०७९ सालको वैशाखदेखि भदौसम्म निर्माणको इजाजत लिएका २४ फिल्ममध्ये ‘वसन्त’, ‘आउटल दफा २१९’, ‘के घर के डेरा : घर नम्बर २’ लगायत फिल्म प्रदर्शनमा आइसकेका छन्।

त्यस्तै, २०७९ भदौबाट मंसिरसम्म ६२ फिल्मले निर्माणको इजाजत पाए। त्यसमध्ये ‘ममी’ प्रदर्शनमा आइसकेको छ भने ‘हरिबहादुरको जुत्ता’, ‘माग्नेराजा’, ‘मनविनाको धन ठूलो कि धन बिनाको मन’, ‘कुस्ती’ लगायतले सुटिङ सकाएर प्रदर्शनको तयारीमा छन्।

२०७९ पुष महिनामा इजाजत पत्र लिएका १८ फिल्ममध्ये ‘भुठान’ प्रदर्शनमा आइसकेको छ भने ‘जनै हराएको बाहुन’ को छायाङ्कन हालै सकिएर पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

यस वर्षको प्रदर्शन तालिका
यस वर्षको सुरुवात अर्थात चैत ३१ गते ‘पिताम्बर’ र ‘कर्मा’ गरि दुई फिल्म प्रदर्शनमा आए पनि फिल्मले अपेक्षित व्यापार गर्न सकेनन्। वैशाखमा पनि केही फिल्म प्रदर्शन भए। वैशाख १२ गते फिल्म ‘खेल’ र हरिवंश आचार्य अभिनित ‘भुठान’ प्रदर्शनमा आए। दुवैले हलमा राम्रो दर्शक पाउन सकेनन्।

वैशाख १९ गते प्रदर्शनमा आएको यादव भट्टराई निर्देशित ‘झिल्को’को अवस्था पनि उस्तै रह्यो। वैशाख २६ गते भने ‘जार’ र ‘ऊनको स्वीटर’ एकसाथ प्रदर्शनमा आए। दुवै फिल्म मेकिङका हिसाबले राम्रा भए पनि ‘जार’ ले दर्शक तान्न सकेन। तर ‘ऊनको स्वीटर’ ले एक सातामा ५ करोड ७५ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ।

जेठ २ गतेबाट ‘के घर के डेरा : घर नं २’ र दिलिप रायमाझी अभिनित ‘हेलो काँशीराम’ प्रदर्शनमा आउँदा जेठ ९ गते ‘नरसिंहा : अवतार’ प्रदर्शनको तयारीमा छ। यसका अलावा आर्यन सिग्देल अभिनित फिल्म ‘महाभोज’ जेठ १५ गते, ‘जन्ते बाख्रो’ जेठ २३ गते र निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’ जेठ ३० गते प्रदर्शनमा आउँदैछ।

‘यो मन त मेरो नेपाली हो’ २०८२ साल असार २७ गते प्रदर्शनकाे तयारी गरिरहेका बेला उक्त महिना अन्य ठूला फिल्म प्रदर्शनको तयारी छैन।

साउन २३ गते राजबहादुर साने निर्देशित र सौगात मल्ल तथा बेनिशा हमाल अभिनित फिल्म ‘सिटामोल’ र ओमप्रतिक निर्देशित ‘मोहर’ भिड्ने तयारीमा छन्।

भदौ १२ गते सरोज पौडेल निर्देशित ‘कोशेढुङ्गा’, भदौ २७ गते खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’ र पूर्णबहादुरको सारङ्गी टोलीले निर्माण गरेको ‘अभिमन्यु’ एकसाथ प्रदर्शन हुनेछन्।

यसपाली असोजमा महाभिडन्त हुँदैछ। असोज १३ गते फूलपातीलाई लक्षित गरी ‘परालको आगो’, ‘माइतीघर’, ‘१२ गाउँ-२’, ‘जारी-२’ ‘डबल ट्रिपल’, ‘महाराजधिराज’, ‘माग्ने राजा’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’, ‘दशमी’ लगायत करिब दश वटा फिल्म प्रदर्शनको तयारीमा छन्।

यसमध्ये ‘१२ गाउँ-२’ र ‘जारी-२’ को मिति औपचारिक घोषणा हुन बाँकी छ। असोज २४ गते प्रवीण खतिवडा अभिनित ‘शिवांश : च्याप्टर १’ देशभर प्रदर्शनमा आउनेछ।

तिहारको लक्ष्मी पूजाको दिन कात्तिक ३ गते दयाहाङ राई, विजय बराल लगायत अभिनित ‘वरिष्ठ बलराम’ प्रदर्शन हुँदैछ भने कात्तिक ७ गते तुलसी घिमिरेको निर्देशनमा बनेको ‘पहाड’ प्रदर्शन हुनेछ।

तिहारको छेको पारेर अनमोल केसीको ‘जेरी अनटप’ प्रदर्शनमा आउने बुझिएको छ। प्रदीप खड्का अभिनित ‘एक्लो’ ले पनि तिहारमै प्रदर्शनमा ठाउँ हेर्दैछ। कात्तिक २१ गते ‘कल्ली’ प्रदर्शनमा आउने घोषणा गरिएको छ।

निर्माण सकियो घोषणा छैन
केही फिल्मको छायाङ्कन सकिए पनि प्रदर्शन मिति तय भएको छैन। हिमाल न्यौपानेको निर्देशन तथा विजय बराल, मिरुना मगर, शशांक मैनाली र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सकिएको छ। फिल्म हरितालिका तीजमा रिलिज गर्ने चर्चा छ।

यसैगरी प्रकाश सपुत र परीक्षा लिम्बु अभिनित फिल्म ‘सोल्टिनी’ को ३६ दिनमा छायाङ्कन पूरा भएको छ, तर प्रदर्शन मिति तय छैन। अर्जुन सुवेदी निर्देशित एक फिल्म अहिले सम्पादनमा जुटेको छ।

हाल छायाङ्कनमा रहेका
अर्कोतर्फ केकी अधिकारी अभिनित फिल्म ‘परान’ निर्माण सकिएको छ र रिलिज मिति घोषणा गरिएको छैन। रमेश कोइराला निर्देशित तथा बेनिशा हमाल र  नरेश खड्का अभिनित ‘बिगुल’, वर्षा सिवाकोटी अभिनित ‘कार्की साइँला’को धनकुटामा छायांकन भइरहेको छ।

उता एभरेस्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’को पनि मुस्ताङमा छाया‌ंकन भइरहेको छ भने दिव्या रायमाझीको मुख्य भूमिका रहेको ‘मायाप्रिति’ पनि छायांकनमा छन्। शोभित बस्नेतको निर्देशनमा बनिरहेको ‘पीआर’ को दोस्रो चरणको छायांकन कास्कीको धम्पुसबाट सुरू भएको छ।

छायाङ्कनमा जाने तयारी/घोषणा भएका
केही फिल्म छायाङ्कनमा जाने तयारीमा छन् वा भर्खरै घोषणा भएका छन्। निखिल उप्रेतीको ‘आचार्य’ जेठबाट छायाङ्कन सुरू गर्ने तयारीमा छ। रेखा थापाले आफ्नो फिल्म ‘छत्तिस आँकडा’ को नाम परिवर्तन गरी असारको तेस्रो साताबाट फ्लोरमा जाने तयारी गरेकी छिन्। पूजा शर्माको पनि नयाँ फिल्म निर्माणको तयारी छ जसलाई शिवम अधिकारीले लेखिरहेका छन्।

दिनेश लिङ्देनको निर्देशनमा ‘मातृभूमि’ निर्माण हुने भएको छ। सुशील पौडेलको लेखनमा दीपकराज गिरी, जितु नेपाललाई लिएर वसन्त निरौलाले ‘पाँच पाण्डव’ घोषणा गरेका छन्। जोन योञ्जनको लेखन तथा निर्देशनमा ‘रोल नम्बर १’ को निर्माण घोषणा भएको छ। गत चैत २ गते शुभमुहूर्त गरिएको ‘आमा आज पनि रुन्छिन्’ पनि यसै वर्ष प्रदर्शन हुने बुझिएको छ।

गत फागुन अन्तिमतिर एक्सन जनराको फिल्म ‘कुम्भ’ निर्माण घोषणा भएको थियो। सुदीप भुपाल सिंहको निर्देशन रहेको ‘श्री बुकुरो : द होम कलिङ’ को यसै वर्ष प्रदर्शन आउने चर्चा छ। गायक रामकृष्ण ढकालले ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गराएका छन्, तर सुटिङ भएको छैन। अभिनेता बिराज भट्ट ‘राम नाम सत्य’ को मुख्य भूमिकामा देखिने भएका छन्, यो फिल्म यसै वर्ष छायांकनमा जाने तयारीमा छ।

यसका साथै ‘मितज्यू’, ‘मिरमिरे’, ‘ढुकढुकी’, ‘जारी २’, ‘झिँगेदाउ-२’ लगायत पनि यसै वर्षभित्र प्रदर्शन हुने बताइएको छ। भर्खरै षट्कोण आट्सको व्यानरमा यम थापाको लेखन तथा निर्देशनमा फिल्म ‘लालीबजार’ को निर्माण घोषणा गरिएको छ, जसको प्रदर्शन टुङ्गो छैन।

समग्रमा, चलचित्र विकास बोर्डबाट इजाजत लिने फिल्मको उच्च संख्याले नेपाली फिल्म उद्योगमा आगामी दिनमा निकै व्यस्तता, चहलपहल र प्रतिस्पर्धा बढ्ने निश्चित छ। प्राविधिकहरूलाई फुर्सद नभएको अवस्थाले पनि यो वर्ष फिल्मकर्मीका लागि दशै‌ं झैँ व्यस्त रहने देखिन्छ।

जेठ ३, २०८२ शनिबार १२:५८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।