ट्रम्पको आदेशमा अदालतको अङ्कुश, आप्रवासीलाई देशबाट निष्कासन गर्न रोक

ट्रम्पको आदेशमा अदालतको अङ्कुश, आप्रवासीलाई देशबाट निष्कासन गर्न रोक

एजेन्सी : अमेरिकी सर्वोच्च अदालतले शुक्रबार भेनेजुएलाका आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने ट्रम्पको निर्णयलाई रोक लगाएको छ।

धेरै आप्रवासीहरू हाल टेक्सासको एक हिरासत केन्द्रमा थुनामा छन्। ट्रम्प प्रशासनले १७९८ को ‘विदेशी शत्रु ऐन’ मार्फत उनीहरूलाई सकेसम्म चाँडो देशबाट बाहिर पठाउन चाहन्थ्यो।

ट्रम्प प्रशासनको निर्णयलाई रोक लगाउँदै अदालतले सरकारले मानिसहरूलाई देशबाट निष्कासन गर्नुअघि कानुनी प्रक्रियाबाट गुज्रने पूर्ण अवसर दिनुपर्ने बताएको छ।

अदालतले ट्रम्प प्रशासनले आप्रवासीहरूलाई २४ घण्टा भित्र विना सुनुवाइदेश बाहिर पठाउन अपनाएको तरिका बिल्कुलै सही नभएको पनि बताएको छ।

‘विदेशी शत्रु ऐन’ युद्धको समयमा बनेको कानून हो जसमा शत्रुहरूलाई देशबाट निष्कासन गर्न कुनै कानुनी कारबाही गर्नु पर्दैन। यद्यपि, अमेरिकी संविधानका केही प्रावधानहरू मार्फत यसलाई अदालतमा चुनौती दिइएको थियो।

यो फैसलाको अर्थ आप्रवासीहरूलाई आफूलाई किन देश निकाला गरिँदैछ भनेर जान्न र अदालतमा चुनौती दिन पाउने अधिकार छ। यद्यपि, यो निर्णय अझै अस्थायी हो र यसमाथिको सम्पूर्ण कानुनी लडाइँ अझै बाँकी छ।

सर्वोच्च अदालतले मुद्दालाई अझ राम्ररी सुनुवाइ गर्न सकियोस् भनेर तल्लो अदालतमा फिर्ता पठाएको छ। यो त्यही अदालत हो, जसले अप्रिलमा यस मुद्दामा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा ‘सर्वोच्च अदालतले हामीलाई देशबाट अपराधीहरूलाई निष्कासन गर्न अनुमति दिएन’ भनेर पोस्ट गरेका छन्।

जेठ ३, २०८२ शनिबार ११:०५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।