डा. वशंवदाको उपचार अनुभव : खुट्टै टेक्न नसक्ने ती युवा २० मिनेटको आयुर्वेदिक उपचारपछि ठमठम हिँड्न थाले

डा. वशंवदाम्बा कौण्डिन्न्यायनी (डा. वशंवदा) आयुर्वेदिक चिकित्सक हुन्। आयुर्वेदिक पद्धति अपनाई व्यक्तिलाई रोग लाग्न नदिने र लागेको रोगको आयुर्वेदिक विधिबाट उपचार गरी निको पार्नु उनको चिकित्सकीय धर्म र कर्म हो। उनै डा. वशंवदाले आयुर्वेदिक चिकित्सकीय पेसाको क्रममा देखेका र भोगेका अनुभव उकेरासँग साटेकी छन्।
जन्डिस भएका ती विदेशी बिरामीलाई बचाउन नसक्दा...
डा. वशंवदा एक जना विदेशी बिरामीलाई उपचार गरेको प्रसङ्ग कहिल्यै भुल्दिनन्।
प्रसङ्ग केही वर्षअघिको हो। करिब ५५ वर्षका एक जना विदेशी पुरुष बिरामीलाई नरदेवी आयुर्वेद चिकित्सालय पुर्याइयो। ती युरोपेली मुलुकका पुरुष थिए। ती पुरुषकी श्रीमती भने नेपाली रहिछन्। जन्डिस (हेपाटाइटिस-सी) को समस्या भइसकेका ती पुरुषलाई उनकी श्रीमतीले धेरै अस्पतालमा लगेर उपचार गराइसकेकी रहिछन्।
तर, जति उपचार गरे पनि स्वास्थ्यमा सुधार भएनछ। स्वास्थ्यमा सुधार नभएपछि केही गरी ठिक भइहाल्छ कि भन्ने झिनो आशा बोकेर ती महिलाले श्रीमानलाई उपचारका लागि नरदेवी आयुर्वेद चिकित्सालय पुर्याएकी रहिछन्।
जन्डिसका कारण स्वास्थ्य अवस्था नै जटिल बनिसकेका ती पुरुषलाई नरदेवीमा भर्ना गरेर चिकित्सकको टोलीले उपचार थाल्यो। तर, त्यो बेलासम्म उपचार निकै ढिला भइसकेको थियो। उनको स्वास्थ्य अवस्था यति बिग्रिसकेको थियो कि, उपचार गरेर पनि बचाउन नसकिने अवस्थामा पुगिसकेको थियो।
जेहोस्, जति बाँचे पनि ती पुरुषलाई सहज अवस्थामा राख्नुपर्ने थियो। त्यसैले नरदेवीमा केही दिन भर्ना गरेर औषधि उपचार गरेपछि ती पुरुषलाई थप उपचार र सहजताका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरियो।
नरदेवीबाट रिफर भएको केही दिनभित्रै जन्डिसका ती विदेशी पुरुषको मृत्यु भएको खबर सुनेको डा. वशंवदाले सुनाइन्। जन्डिसका ती विदेशी बिरामीलाई बचाउन नसकेको त्यो घटना सम्झँदा अझै उनको मन कटक्क हुन्छ।
२० मिनेटको उपचारपछि ती युवा चमत्कार जस्तै ठमठम हिँड्न थाले
डा. वशंवदाले एक जना हिँड्नै कठिन भएका युवाको समस्या चमत्कार जस्तै गरी ठिक भएको प्रसङ्ग सुनाइन्।
प्रसङ्ग करिब एक महिनाअघिको हो। करिब ३५ वर्षका युवा उपचारको खोजीमा ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं’ पुगे। ती युवा बायाँ खुट्टाले टेकेर हिँड्नै सक्दैनथे। टेक्यो कि कुरकुच्चा दुखेर मुर्छा पर्ने अवस्था हुन्थ्यो।
ती युवा खुट्टाको समस्याका कारण खल्ट्याङ खल्ट्याङ गरेर हिँड्थे। करिब आठ महिनादेखि ती युवालाई खुट्टाको त्यो समस्याले सताएको थियो। युवाले उपचारको खोजमा केही अस्पताल नधाएका पनि होइनन्। तर, समस्या ठिक भएनछ।
खुट्टाले हिँड्नै नसक्ने भएपछि ती युवा शारीरिक मात्रै होइन, मानसिक रुपमा पनि तनावमा परेका थिए। ती युवाको खुट्टाको समस्या केलाइयो। वातजन्य विकारका कारण ती युवाको खुट्टामा समस्या भएको थाहा भयो।
समस्याको पहिचानपछि ती युवाको खुट्टाको उपचारका लागि आयुर्वेदको ‘विद्ध कर्म’ विधि अपनाइयो। ती युवालाई सिरिन्ज (सुई) प्रयोग गरी खुट्टाका विभिन्न विन्दु (प्वाइन्ट) मा आयुर्वेदको ‘विद्ध कर्म’ विधिबाट घोचियो वा छेडियो। यस्तो विधिलाई आयुर्वेदिक चिकित्सकीय विधिमा ‘विद्ध कर्म’ भनिन्छ। आयुर्वेदमा यो विधि निकै प्रभावकारी रहेको उनले सुनाइन्। ती युवाको त्यो उपचारका लागि करिब २० मिनेट लाग्यो।
ती युवालाई त्यो करिब २० मिनेट आयुर्वेदको ‘विद्ध कर्म’ विधिबाट उपचार गर्दा खुट्टाको समस्या चामत्कारिक रूपमा नै ठिक भइहाल्यो। त्यो उपचारपछि ती युवा ठमठम हिँडेर नै अस्पतालबाट फर्किए। त्यसपछि ती युवाको समस्या ठिक भएर फलोअपका लागि पनि आउनु परेन। उपचारपछि ती युवा चामत्कारिक रूपमा खुट्टा टेकेर हिँड्न सकेको र घर फर्किएको त्यो प्रसङ्ग सम्झँदा डा. वशंवदालाई अझै खुबै आनन्द लाग्छ।
ती महिलाको टाउको दुख्ने समस्या चमत्कारिक रूपमा ठिक भएपछि...
डा. वशंवदा टाउको दुख्ने समस्या (माइग्रेन) भएकी करिब ४० वर्षकी एक महिलाको पनि यही ‘विद्ध कर्म’ उपचारात्मक विधिले चमत्कारिक रूपमा पूर्ण रूपमा निको भएको प्रसङ्ग सम्झिन्छिन्।
प्रसङ्ग एक महिनाअघिको हो। ती महिला वर्षौंदेखि टाउको दुख्ने समस्याले ग्रसित थिइन्। सुरूमा त यस्तो विधिले पनि ठिक हुन्छ र? भनेर ती महिलाले पत्याएकी थिइनन्। एक हप्ताको अन्तरमा ती महिलाको उपचार गरियो। उपचारात्मक विधिअनुसार ‘विद्ध कर्म’ विधि अपनाएपछि तीन हप्तामै ती महिलाको वर्षौं पुरानो टाउको दुख्ने समस्या चमत्कारिक रूपमा निको भएको प्रसंग डा. वशंवदाले सुनाइन्।
मुटुरोग भएका ती पुरुषको उपचार अनुभव
मुटुरोगको समस्या भएका एक जना पुरुषको उपचार गरेको प्रसङ्ग पनि सम्झन्छिन्, डा. वशंवदा।
प्रसङ्ग करिब सात वर्षअघिको हो। मुटुरोग भएका करिब ५४ वर्षका पुरुष नरदेवी आयुर्वेद चिकित्सालयमा पुगे। डा. वशंवदाले ती पुरुषको थप केही स्वास्थ्य परीक्षण गरिन्। ती पुरुषको मुटुको चाल अस्वाभाविक रूपमा घटबढ (एरिदमिया) हुने समस्या थियो।
उनले ती पुरुषको आयुर्वेदिक उपचार विधि अपनाएर औषधि उपचार सुरू गरिन्। डा. वशंवदाले ती पुरुषको उपचारका लागि ‘अर्जुन चुर्ण’, ‘अर्जुन खिरपाक’लगायत आयुर्वेदिक औषधि दिइन्। आवश्यक औषधि उपचार गरिन्। तर, ती पुरुषलाई भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था भने थिएन।
औषधि सेवन गरेको केही दिनदेखि नै ती पुरुषको मुटुको समस्या कम हुँदै गयो। ती पुरुष पछिसम्म पनि फलोअपमा पुगेको र मुटुको समस्या निको भएको उनी सम्झिन्छिन्।
ह्विलचेयरमा अस्पताल पुगेकी ती युवती
आयुर्वेदमा कयौं उपचार प्रभावकारी हुने गरेको डा. वशंवदाले सुनाइन्। करिब सात वर्षअघि बाथ (आमवात) को समस्या भएर करिब २५ वर्षकी युवतीलाई ह्विलचेयरमा नै नरदेवी आयुर्वेद चिकित्सालय पुर्याइएको सम्झन्छिन् उनी।
ती युवतीलाई नरदेवीमा भर्ना गरेर औषधि उपचार गरियो। करिब दुई हप्ता नरदेवीमा भर्ना गरेर आयुर्वेदिक विधि अपनाएर औषधि तथा थेरापी लगायतका उपचार गरेपछि ती युवती हिँडेरै अस्पतालबाट फर्किएको डा. वशंवदाले सुनाइन्।
अध्ययनमा अब्बल, छात्रवृत्तिमा डाक्टर
काठमाडौंको लाजिम्पाटमा वि.सं. २०३७ मा जन्मिएकी वशंवदाले २०५४ मा एसएलसी गरिन्। सानैबाट अध्ययनमा अब्बल उनी त्यतिखेर (प्राइभेटबाट) एसएलसीमा ८१ प्रतिशत ल्याएको सम्झिन्छिन्। उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरिन्। पछि उनी त्रिचन्द्रमा बीएस्सीमा भर्ना भइन्।
तर, अध्ययनमा अब्बल वशंवदामा आयुर्वेदिक डाक्टर पढ्ने रहर जाग्यो। उनले सोहीअनुसारको छनोट परीक्षाका लागि तयारी गरिन्। उनले छनोट परीक्षा दिइन् र छनोट पनि भइन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्यतिबेला नरदेवीमा सञ्चालित आयुर्वेद क्याम्पसमा छात्रवृत्ति कोटामा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एन्ड सर्जरी (बीएएमएस)’ अध्ययनका लागि उनी छनोट भइन्।
त्यसपछि बीएस्सी अध्ययन छोडेर २०५९ मा ‘आयुर्वेद क्याम्पस’मा भर्ना भएर ‘बीएएमएस’ पढ्न थालिन्। वशंवदाले २०६५ मा साढे पाँच वर्षे बीएएमएस अध्ययन सकिन्। बीएएमएस अध्ययनमा पनि उनी आफ्नो ब्याचमा टप भइन्।
सरकारी जागिरमा प्रवेश
बीएएमएस अध्ययनपछि डा. वशंवदा लोकसेवा परीक्षामार्फत २०६६ मा आयुर्वेद चिकित्सकका रूपमा आठौं तहको सरकारी स्थायी जागिरमा प्रवेश गरिन्।
आयुर्वेद चिकित्सकका रूपमा स्थायी सरकारी जागिरे भएपछि डा. वशंवदा पदस्थापन भई उदयपुरको गाइघाटस्थित तत्कालीन ‘सगरमाथा अञ्चल आयुर्वेद औषधालय’मा पुगिन्। त्यहाँ उनी कार्यालय प्रमुखकै जिम्मेवारीमा रहेर करिब दुई वर्ष काम गरिन्।
त्यसपछि डा. वशंवदा सरुवा भएर दोलखाको ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’मा पुगिन्। त्यहाँ पुनः उनले कार्यालय प्रमुखकै जिम्मेवारीमा रहेर करिब दुई वर्ष काम गरिन्। त्यसपछि उनी २०७० मा काठमाडौंको ‘नरदेवी आयुर्वेद चिकित्सालय’ सरुवा भएर काम गर्न थालिन्। त्यहाँ उनले करिब एक वर्ष आयुर्वेद चिकित्सकका रूपमा काम गरिन्।
डा. वशंवदालाई अध्ययनको भोक त कहाँ मरिसकेको थियो र? उनलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले नरदेवीपछि उनले ‘आयुर्वेद क्याम्पस, कीर्तिपुर’मा आयुर्वेदको स्नातकोत्तर तहको ‘काय चिकित्सा’ विषयमा ‘एमडी’ अध्ययनका लागि २०७२ मा भर्ना भइन्। उनले स्नातकोत्तर तहको त्यो अध्ययन सरकारी छात्रवृत्ति कोटामा नै गरेकी हुन्। २०७४ मा उनको तीन वर्षे ‘एमडी’ अध्ययन सकियो।
‘एमडी’ अध्ययनपछि डा. वशंवदा पुनः नरदेवीमा नै काम गर्न थालिन्। उनले २०७६ सम्म त्यहीँ काम गरिन्। त्यसपछि उनी कर्मचारी समायोजनका क्रममा बागमती प्रदेशमा समायोजनमा परिन्। समायोजनमा परेपछि उनी पदस्थापन भई सिन्धुपाल्चोकको ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चौतारा’मा पुगिन्। त्यहाँ उनले करिब तीन वर्ष कार्यालय प्रमुखकै जिम्मेवारीमा रहेर काम गरिन्।
सिन्धुपाल्चोकपछि २०७९ मा डा. वशंवदा सरुवा भएर काभ्रेको ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा’ पुगिन्। काभ्रेपछि उनी २०८१ को मङ्सिरमा सरुवा भएर बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्तर्गत ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं’मा आएकी छन्। हाल उनी त्यहीँ कार्यालय प्रमुखको जिम्मेवारीमा समेत कार्यरत छिन्।
अस्पताल व्यवस्थापन तथा प्रशासनिक व्यवस्थापन गर्नु त हालको उनको दैनिकी हो नै। त्यसैगरी व्यक्तिलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अनि बिरामी भएर अस्पताल पुगेका बिरामीलाई औषधि उपचार गरी निको पार्नु डा. वशंवदाको उद्देश्य हो।
त्यसैगरी आयुर्वेदसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्नु पनि उनको रुचि र चासोको विषय हो। उनी आयुर्वेदले बताएका दिनचर्या, ऋतुचर्या तथा जीवनशैली व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रित भएर काम गर्छिन्।
भान्साघर औषधालय, नसर्ने रोग व्यवस्थापन, स्वास्थ्य स्वयंसेविकालाई सचेतना कार्यक्रम, ट्राफिक प्रहरीका लागि प्रदूषणबाट बचाउने कार्यक्रम तथा अन्य विविध उत्प्रेरणात्मक तथा प्रयोगात्मक कार्यक्रममा पनि डा. वशंवदा उत्ति नै सक्रिय छिन्।
जेठ ३, २०८२ शनिबार १०:१३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।