मदन-आश्रितको विचार सधैँ प्रेरणादायी रहनेछ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन आफूका लागि सधैँ प्रेरणाको स्रोत बन्ने बताएका छन्।
आज ३२ औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ती नेताहरूको योगदानको स्मरण गरे।
फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्, “३२ वर्ष अगाडि आजकै दिन हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौं। जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो। मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं। उहाँहरूको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ। मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु।”
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परेर एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।
जेठ ३, २०८२ शनिबार ०९:३९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।