मेलम्चीको पानी अब बालाजु र नागार्जुनमा पनि, वितरणका लागि प्रक्रिया सुरु

मेलम्चीको पानी अब बालाजु र नागार्जुनमा पनि, वितरणका लागि प्रक्रिया सुरु
फाइल फोटो

काठमाडौं : बालाजु र नागार्जुनका बासिन्दालाई मेलम्चीको पानी पिउन पाइने भएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले यी क्षेत्रहरूमा मेलम्चीको प्रशोधित पानी वितरणको प्रक्रिया सुरु गरेको हो।

बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन, कागेश्वरी मनोहरा, नागार्जुन वन र वृन्दावन महादेव लगायतका ठाउँमा पाइप बिछ्याउने काम अघि बढेको छ।

निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीका अनुसार, मेलम्चीको पानी वितरण गर्ने मन्त्रीको निर्देशनपछि बोलपत्र आह्वान समेत भइसकेको छ। "हामी सफा र प्रशोधित पानी सबैलाई दिन चाहन्छौँ," चौधरीले भने।

रिङ रोड, बलाजु क्षेत्रमा जम्मा ३८११ मिटर पाइप विस्तार गरिनेछ। त्यसैगरी बालाजु ट्याङ्कीबाटै प्रशोधित पानी वितरण गरिने जनाइएको छ।

मेलम्ची परियोजनाबाट हाल २७० मिलियन लिटर पानी दैनिक रूपमा उपत्यकामा पठाउने तयारी गरिएको छ। मन्त्रालयका अनुसार अब पानी वितरण ढिलो हुने अवस्था अन्त्य हुँदैछ र उपत्यकाको पानी संकट केही हदसम्म समाधान हुनेछ।

अब बालाजु र नागार्जुन नगरपालिकाका बासिन्दाले चाँडै नियमित रूपमा मेलम्चीको प्रशोधित पानी पाउने छन्।

जेठ ३, २०८२ शनिबार ०९:०७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।