३२औं मदन-आश्रित स्मृति दिवस आज मनाइँदै, एमाले र एकीकृत समाजवादी दुवैको कार्यक्रम

काठमाडौं : एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज ३२औं मदन-आश्रित स्मृति दिवस मनाइँदैछ।
प्रत्येक वर्ष जेठ ३ गते मदन-आश्रितको रहस्यमय निधनको दिनलाई स्मृति दिवसका रूपमा मनाउने गरिन्छ। एमालेले स्मृति दिवसको अवसरमा देशभरका पार्टी कमिटीहरूलाई स्मृतिसभा तथा विविध सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिएको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार सबै प्रदेश र जिल्ला कमिटीहरूलाई परिपत्र जारी गरिएको छ।
केन्द्रीय स्तरमा भने मदननगर बल्खुमा बिहान ८ बजे विशेष स्मृति कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
त्यस अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा मदन-आश्रितका परिवारका सदस्यहरूलाई पनि निमन्त्रणा गरिएको अधिकारीले जानकारी दिए।
एमालेबाट अलग भइ गठन गरिएको नेकपा (एकीकृत समाजवादी) ले पनि छुट्टै कार्यक्रममार्फत स्मृति दिवस मनाउने तयारी गरेको छ।
वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो। उनीहरू पोखरामा आयोजना गरिएको जनसभामा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको हो।
दुर्घटनाबाट उनीहरू दुवैको ज्यान गएको भए पनि जिप चालक अमर लामा भने जिउँदै बचेका थिए। तर वि.सं. २०६० सालमा लामा पनि हत्या भएपछि यो घटना झन् रहस्यमय बन्दै आएको छ।
जेठ ३, २०८२ शनिबार ०७:४०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।