जब ‘के घर के डेरा’ हेर्न गएका दर्शक विश्वज्योतिको भर्‍याङमा थुनिए…

जब ‘के घर के डेरा’ हेर्न गएका दर्शक विश्वज्योतिको भर्‍याङमा थुनिए…
फाइल तस्बिर

काठमाडौं : राजधानीको जमलस्थित विश्वज्योति सिनेप्लेक्समा फिल्म हेर्न गएका दर्शक शुक्रबार साँझ भीषण हावाहुरीका बेला हलको आकस्मिक भर्याङमा करिब १५ मिनेट थुनिए।

फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को दिउँसो ३:३० बजेको शो हेरेर बाहिर निस्कने क्रममा यो घटना भएको हो। ठूलो प्राकृतिक प्रकोप चलिरहेका बेला दर्शक बाहिर फलामको भर्याङमा असुरक्षित अवस्थामा अड्किनुपर्दा व्यवस्थापनको सुरक्षा लापरवाहीमाथि गम्भीर प्रश्न उठेको छ।

जमलस्थित विश्वज्योति मलको पाँचौं तल्लामा अवस्थित विश्वज्योति सिनेप्लेक्सको हल नम्बर १ (अडी १) मा प्रदर्शन भइरहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’ शुक्रबार साँझ करिब ६ बजेतिर सकिएको थियो। हलबाट बाहिर निस्कन भवनको पछाडिपट्टीको आकस्मिक फलामे भर्याङको व्यवस्था थियो। यो सो हलका लागि नियमित रूपमै प्रयोग गरिने बाटो हो।

तर, शुक्रबारको साँझ यो सामान्य प्रक्रियाले काम गरेन। फिल्म सकिएपछि दर्शकलाई निर्देशित गरिएअनुसार आकस्मिक भर्याङतर्फ निकालियो। तर, आकस्मिक भर्याङबाट तेस्रो तल्लामा प्रवेश गर्ने ढोका भित्रबाट बन्द (लक) गरिएको रहेछ। यसले गर्दा दर्शक भर्याङमै अड्किए।

बाहिर हावाहुरी र पानीको जोखिम बढेपछि आत्तिएका दर्शक पुन: पाँचौं तल्लाको हलतर्फ फर्कन खोजे। तर, हलको ढोका पनि एकपटक बाहिर निस्किएपछि आफैं बन्द हुने र बाहिरबाट खोल्न नमिल्ने भएकाले उनीहरू भित्र पनि पस्न सकेनन्। यसरी उनीहरू पाँचौं र तेस्रो तल्लाको बीचमा रहेको फलामे आकस्मिक भर्याङमा पूर्ण रूपमा थुनिए।

यो घटना काठमाडौं उपत्यकामा ठूलो हावाहुरी र धुलोको आँधी चलिरहेको साँझको समयमा भएको थियो। करिब १५ देखि २० जनाको संख्यामा रहेका दर्शकलाई हावाहुरी चलिरहेका बेला बाहिरपट्टि रहेको खुला फलामे भर्याङमा करिब १५ मिनेटसम्म थुनिनुपर्दा ठूलो सास्ती भोग्नुपर्यो। बाहिरको हावाहुरीले गर्दा उनीहरूमा डर र त्रास उत्पन्न भएको थियो।

घटनाका प्रत्यक्षदर्शी दर्शक विवेक तामाङले घटनाबारे भने, ‘हामी करिब १५ मिनेटसम्म बाहिर खुला भर्याङमै अड्कियौं। पाँचौं तलाको हलबाट बाहिर निकाल्यो, तर तेस्रो तल्लामा पस्ने ढोका बन्द थियो। बाहिर सामान्य अवस्था थिएन, ठूलो हावाहुरी चलिरहेको थियो, हामी फलामे भर्याङमा थुनियौं।’

अर्की दर्शक रजनी पाण्डेले हल व्यवस्थापनप्रति आक्रोश पोखिन्।

उनले भनिन्, ‘फिल्म हेर्न पैसा तिरेर आएका थियौं, खुसी भएर फर्कने आशा थियो तर हामीलाई तर्साउने काम भयो। त्यत्रो ठूलो हावाहुरीमा बाहिर थुनिनुपर्दा टिक्नै गाह्रो भयो। १५ मिनेटपछि बल्लतल्ल निकाले, त्यसमाथि पनि उनीहरूकै कुरा ठूलो थियो।’

केहीबेर दुवैतर्फका ढोका ढकढक्याउँदा र आवाज लगाउँदा पनि सुनुवाई नभएपछि आत्तिएका दर्शकले आफैं जुक्ति निकाले। एक जना दर्शकले आफ्नो मोबाइलबाट गुगल सर्च गरी विश्वज्योति सिनेप्लेक्सको फोन नम्बर पत्ता लगाएर सिधै हल व्यवस्थापनलाई फोन सम्पर्क गरे।

फोन गरेपछि मात्रै हलका कर्मचारीले उनीहरू फसेको बारे जानकारी पाए। केहीबेरमा माथि पाँचौं तल्लाबाटै ढोका खोलेर उनीहरूलाई त्यहाँबाट निकालियो।

घटनाबारे बुझ्नका लागि उकेराले विश्वज्योति मल्टिप्लेक्सका अपरेशन म्यानेजर रविन पौडेललाई सम्पर्क गर्दा उनले व्यवस्थापन पक्षबाट कमजोरी भएको स्वीकार गरे। उनले तेस्रो तल्लाको ढोका व्यवस्थापकीय त्रुटिका कारण भित्रबाट बन्द रहेको र त्यसले गर्दा दर्शकले असुविधा भोग्नुपरेको बताए।

पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै दर्शकसँग माफी मागेका छन्। उनले कसरी यस्तो गम्भीर लापरवाही हुन पुग्यो भन्ने विषयमा आन्तरिक छानबिन गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि थप सजग रहने प्रतिबद्धता व्यक्त गरे।

‘हामीबाट कमजोरी भएकै हो, त्यसका लागि दर्शकसँग माफी चाहन्छौँ। कसरी त्यस्तो कमजोरी भयो भन्नेबारेमा छानविन गर्छौँ,’ उनले भने, ‘आगामी दिनमा त्यस्तो कमजोरी हुन नदिन थप सचेत हुन्छौँ।’

जेठ २, २०८२ शुक्रबार २२:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।