‘के घर के डेरा : घर नं २’ लाई दर्शकको वर्ड अफ माउथको साथ, क्लाइमेक्सको प्रशंसा

काठमाडौं : एकै पटक दुई फिल्म जुध्दा एउटाले पानी पनि भन्न नपाउने अवस्था बदल्दै एकै दिन तीन फिल्म चल्दा पनि लगानी सहजै उठ्न थालेको छ। तर यो सबैका हकमा भने लागु हुन्न।
जस्तो ‘उनको स्विटर’ र जार एकै दिन लाग्दा जारले हलमा पानी भन्न पाएन। उनको स्विटरको हाइप बढिरहेकै बेलामा शुक्रवार हलमा नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ लाग्यो। उनको स्विटरको शो संख्या घट्यो।
पहिलो दिन साढे २ सय हाराहारीको शो संख्या पाएको फिल्म कर्णाली ब्लुजका लेखक बुद्धिसागरले लेखेको पहिलो फिल्म हो। कलाकारको लाइनअप पनि बलियै छ। प्रचारशैली बदल्दै प्रिमियरमा सेलिब्रिटीको ठाउँमा आम दर्शक सहभागी गराएको फिल्मले त्यही ट्रिकले बलियो वर्ड अफ माउथ पाउँदा पहिलो दिनको अकुपेन्सी ५०% हाराहारी देखियो हलमा। फिल्मको क्लाइमेक्स दर्शकहरुले मन पराएका छन्।
निर्माण टिमका अनुसार बिहानको शोमा त्यति दर्शक देखिएनन्। तर शुक्रवार बेलुकाको शोमा भने दर्शकको संख्या बढेको थियो। निर्देशक दीपेन्द्र के खनालले वर्ड अफ माउथ बलियो हुँदै गएको र फिल्म हेरेका दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको बताए। निर्देशक खनालले दर्शकहरूले नै फिल्मको पब्लिसिटी गरिदिएको बताए।
फिल्मको प्रिमियरमा निर्माण टिमले १ सय ८० आम दर्शकलाई पास दिएर सहभागी गराएको थियो। ‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार छन्।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कार्यकारी निर्माता युवराज कार्की र निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन्।
जेठ २, २०८२ शुक्रबार २२:१४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।