वीर अस्पतालको करारका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

काठमाडौंः वीर अस्पतालका करिब एक सय १८ जना करारका स्वास्थ्यकर्मी तथा कर्मचारीले चार महिनायता तलब भत्ता पाएका छैनन्। ती स्वास्थ्य मन्त्रालय अन्तर्गत पुल दरबन्दीमा रहेका करारका कर्मचारी भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
‘पुल दरबन्दी मध्येका कर्मचारीले माघदेखि तलब भत्ता नपाउनु भएको हो,’स्रोतले भन्यो। वीर अस्पताल प्रशासनको टिम बिहीबार स्वास्थ्य मन्त्रालयमा गएर तलब भत्ताको व्यवस्थापन गर्ने विषयमा छलफल गरेका थिए।
अस्पतालले पुलको करारका कर्मचारीको माघदेखि असार सम्मको तलब भत्ताका लागि दुई करोड ८३ लाख रकम माग गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यसपछि तलब भत्ताको व्यवस्थापनका लागि स्वास्थ्य स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम मागको प्रक्रिया अगाडि बढाएको स्रोतले जनाकारी दियो।
वीर अस्पतालमा स्वास्थ्य मन्त्रालय अन्तर्गत आठ सय ३१ कर्मचारीको पुल दरबन्दी छ। मोहन बस्नेत स्वास्थ्य मन्त्री हुँदा दुई सय ७६ जना करारका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी निकालिएको थियो।
त्यसपछि स्वास्थ्य मन्त्री बस्नेत नै हुँदा करिब सय जना नर्स र १५ जना फार्मेसिस्ट (सहायक सहित), तीन जना एनेस्थेसियोलोजिष्ट, तीन जना रेडियोग्राफर, डेन्टल हाइजेनिष्ट पाँच जना, दुई जना बायोमेडिकल इन्जिनियरलगायत १५ जना गरी एक सय १५ जनालाई मन्त्रालयको स्वीकृतिमा पुल दरबन्दी अन्तर्गतको करार जागिरेका रूपमा वीर अस्पतालमा नियुक्ति गरिएको थियो।
पुल दरबन्दी अन्तर्गत करारमा भर्ना गरिएकामध्ये २१ जना नर्सले जागिर छोडेकाले अब ७९ जना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ। तिनै करारका कर्मचारीले माघ यता चार महिनाको तलब भत्ता नपाएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
ती कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले रकम दिएपछि तलब भत्ता खुवाइने अस्पताल प्रशासनले जानकारी दियो। पुल दरबन्दीको बाहेकका कर्मचारीले भने वैशाखसम्मको तलब भत्ता पाइरहेको वीर अस्पताल प्रशासनले जानकारी दिएको छ।
जेठ २, २०८२ शुक्रबार २१:५५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।