कामदारको हत्या गरेर जङ्गलमा फाल्ने घरधनी दम्पती पक्राउ

म्याग्दी : धवलागिरि गाउँपालिका-५ मल्कबाङमा आफ्नै घरमा काम गर्ने व्यक्तिको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन्। पक्राउ परेका बलबहादुर दमाई र उनकी श्रीमती कर्मती दर्जीमाथि ४६ वर्षीय मनबहादुर दमाईको हत्या गरेको आरोप लागेको छ।
वैशाख २८ गते खाम्चास्थित जङ्गलमा मनबहादुरको शव फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्दा हत्यामा उनीहरूकै संलग्नता देखियो। आज प्रहरीले उनीहरूलाई सार्वजनिक गर्यो।
प्रहरीका अनुसार दम्पतीले बाउँसोको बिँड प्रयोग गरेर मनबहादुरको टाउको र शरीरमा प्रहार गरी हत्या गरेका थिए। त्यसपछि शव जङ्गलमा लगेर फालेका थिए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार अदालतबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
जेठ २, २०८२ शुक्रबार २१:१३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।