‘एन्फाका पदाधिकारी मोजमस्ती र भ्रष्टाचारमा लागेर नेपाली फुटबल खत्तमै पारे’

अखिल नेपाल फुटबल संघ एन्फामा लामो समय नेतृत्व गरेका गणेश थापाको फुटबलमा एक छत्र राज थियो। तर फिफाको चुनावमा भोट बेचेर पैसा लिएको भन्दै फिफाबाट १० वर्षको प्रतिबन्ध लागेपछि उनको राज समाप्त भयो।
१० वर्षसम्म गुमनाम रहेका थापा प्रतिबन्धको समय सकिए लगत्तै फुटबल गतिविधिमा पुन देखिन थालेका छन्। तर वर्तमान एन्फा नेतृत्व उनलाई पुरानै फर्ममा फर्कन दिन चाहँदैन। त्यही देखियो केही दिन अगाडि धुलिखेलमा भएको एन्फाको साधारण सभामा।
भित्र साधारण सभा सुरु भइसक्दा बाहिर गणेश थापा अदालतको आदेश बोकेर कराइरहेका थिए। न्याय मागिरहेका थिए। तर उनलाई छोरा गौरवबाहेक अरूले साथ दिएनन्। बाबु-छोरा नै साधारण सभामा सहभागी हुन पाएनन्।
प्रतिबन्ध फुकुवासँगै थापा पुन एन्फाको राजनीतिमा फर्किने अभ्यासमा लागेका हुन्? मोहम्मद बिन हमामसँगको उनको सम्बन्ध र प्रतिबन्धकालमा केन्द्रित भएर थापासँग उकेराकर्मी अमृत पुडासैनीले गरेको कुराकानी।
लामो समयपछि एन्फा र फुटबलको गतिविधिमा देखिन थाल्नुभयो, पुनः शक्तिमा फर्किने अभ्यास हो?
फुटबलको मायाले हो। करिब १५ वर्ष फुटबलको राष्ट्रिय टिममा रहेर खेलेँ, राष्ट्रिय टिमको क्याप्टेन भएँ, निरन्तर २० वर्ष एन्फामा व्यवस्थापक भएर बसेँ। मेरो लगभग ५० वर्ष फुटबलमै बित्यो।
मेरो पालामा २ लाख ५० हजार डलर थियो। अहिले लगभग ७०, ८० लाख पैसा आउँछ। त्यो पैसा भइसकेपछि कार्यक्रम होला, फुटबल राम्रो होला भन्ने सोचेको थिएँ। तर भएन। फुटबल भाताभुङ भएको देख्दा माया लाग्छ नि।
एन्फामा आर्थिक अनियमितता देखिन थालेको छ। अवैधानिक कामहरू भइरहेका छन्। कार्यसमितिमा एउटा निर्णय गर्ने अनि त्यसलाई लत्त्याएर अर्का काम गर्ने काम भइरहेको छ। सबै कुरा बिग्रिएको, भत्केको हुनाले आफ्नो मत राखेको हो। अहिले गणेश थापा एन्फामा फर्किनु पर्छ भन्नु नै मेरो लागि अध्यक्ष हुनु बराबर हो।
अब हुने एन्फा निर्वाचनमा तपाई पक्षधर वा तपाईँकै छोरा (गौरव थापा) लाई नै नेतृत्वमा ल्याउने तयारी हो त?
सन् २०१० को विश्वकप, २०१२ को ओलम्पिक, एसिया कप फाइनलमा मैदानको भेनु मेनेजर भएर काम गरेको अनुभव छ। फुटबल सम्बन्धी अनुभव भएको व्यक्ति देशमा केही सहयोग गर्छु भनेर अहिले काम गरेको मात्रै हो। मेरो विचारमा उ तत्कालै एन्फाको नेतृत्वका लागि लड्छ जस्तो लाग्दैन। उसलाई एन्फामा लडाउनेबारे सोचेको पनि छैन। त्यो उसको नितान्त व्यक्तिगत कुरा पनि हो। पक्षधर भन्ने त के छ र।
१० वर्ष प्रतिबन्धमा बस्नुभयो। त्यो काल कस्तो रह्यो?
सबैभन्दा गाह्रो त्यही १० वर्ष भयो। प्रतिबन्धको बेलामा सामाजिक सञ्जालमा फुटबलबारे लेख्दा पनि फिफामा उजुरी गरेछन्। फिफाले ‘यो गणेश थापाको व्यक्तिगत कुरा हो’ भनिदियो। त्यसपछि सजिलो भयो। अनि फुटबलको बारेमा लेख्न र बोल्न थालेको हुँ।
भ्रष्टाचारको आरोपमा प्रतिबन्धमा परेको व्यक्तिले अहिले आएर सुधारको कुरा गर्दा पत्याउँछन् त?
म २२ वर्ष एन्फामा बसे। त्यहाँ एक रुपैयाँ बदमासी गरेको भए त्यो भ्रष्टाचार हो। फिफामा मेरो बारेमा धेरै मान्छेले उजुरी गरे। फिफाले आएर छानबिन गर्यो। उसले पनि मेरो २२ वर्षे कार्यकालमा दोष देखेन।
अझ मेरो बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समितिले पनि छानबिन गर्यो। तर कसैले पनि दोषी देखेन। जब सरकारले मलाई दोषी देख्छ मैले फुटबलको बारेमा बोल्न पनि मिल्दैन। सजाय पनि पाउनु पर्छ। त्यो कुरामा म तयार छु।
तर जहाँसम्म फिफाको कुरा छ, कतारको मेरो साथी हमामले (मोहम्मद बिन हमाम) मेरो परिवारलाई सहयोग गर्नु भ्रष्टाचार हो? त्यसलाई म त्यसलाई भ्रष्टाचार भन्दिन।
तर हमाम पनि भ्रष्टाचारमा परेको हैन?
हो। त्यो बेलामा फिफामा ठुलो पोलटिक्स थियो। त्यो पोलिटिक्स भित्र उहाँ पनि पर्नुभयो, म पनि परेँ। आखिरमा गएर सेप ब्लाटर पनि पर्नु भयो।
सहयोग आएको हो भने फिफाले किन भ्रष्टाचार भन्यो त?
त्यो पैसा भोटकै (फिफाको चुनावको भोट) लागि लिएको भन्ने के प्रमाण छ? चुनाव सकेको ६ महिना पछि पैसा दिएको छ, चुनावको लागि लिएको भन्ने नै देखिँदैन भने त्यो कसरी भ्रष्टाचार हुन्छ?
म पनि प्रतिबन्धमा, हमाम पनि प्रतिबन्धमा भएको बेलामा त कसैलाई भोट हाल्नु परेन नि। तर मलाई अहिले पनि सहयोग गरिरहनु भएको छ। अब यो पनि भ्रष्टाचार हो त?
अब त्यति कुराको अनुसन्धान गर्न ५ वर्ष लाग्यो। प्रमाण थिएन। केही मिडियाहरूले मेरो इमेज खराब बनाइदिए। त्यही कारणले गणेश थापालाई कारबाही गरेन भने हामी पनि बदनाम हुन्छौँ भन्ने डरले मलाई सिकार बनाए।
फिफाले मलाई कारबाही गर्यो। मैले बाध्य भएर स्वीकारे। त्यो भ्रष्टाचार थिएन। यत्ति हो। अब यसमा मेरो कुनै टीकाटिप्पणी छैन।
१० वर्षपछि एन्फाको साधारण सभास्थलमा गएर विवाद गर्नुभएछ। किन?
१० वर्षदेखि त्यहाँ भएको भ्रष्टाचार, अवैधानिक कामहरू साधारण सभामा जोडदार रूपमा राख्ने तयारी गरेका थियौँ। त्यहाँ फिफा, एएफसीको प्रतिनिधिहरू पनि आउँछन्। उनीहरूले जवाफ दिन सक्ने थिएनन्। अनि साधारण सभामै जान दिएनन्। मलाई मात्रै होइन गौरव थापा (छोरा) लाई पनि प्रवेश गर्न दिएनन्।
प्रतिबन्धमा परेकाले छिर्न नदिएको हो कि।
प्रतिबन्ध खुला भइसकेको थियो नि। एन्फाको विधानको धारा २३(६) मा फौजदारी कारबाहीमा परेको व्यक्ति एन्फाको कुनै पनि निकायमा बस्न पाउँदैन भनेर प्रस्ट लेखेको छ। लागु औषधमा जेल सजाय काटेका दावा लामालाई ड्यासमा राख्छन्। मलाई चैँ साधारण सभामा जान नि दिँदैनन्।
अनुशासनको कारबाही गरेको भन्ने नि आएको छ। हो?
मेरो प्रतिबन्ध वैशाख ४ गते फुकुवा भयो। उनीहरूले ४ गते नै अनुशासन समितिबाट मलाई कारबाही गरेका रहेछन्। मैले २५ गते थाहा पाएँ तर कारबाहीको विषयमा औपचारिक जानकारी अझै छैन।
यिनीहरूले साधारण सभामा छिर्न दिँदैनन् भन्ने थाहा थियो। त्यही भएर उच्च अदालत पाटन गयौँ। अदालतले साधारण सभामा नरोक्नु भनेर स्टे अर्डर पनि दियो। तर अदालतको आदेश पनि मानेनन्।
त्यस्तो के विषय थियो त एन्फा नेतृत्व नै डराउने?
कति विषय छन्, छन्। नत्र किन रोक्थे र। म र गौरव साधारण सभामा भाग लिँदैमा के नै हुन्थ्यो त। उनीहरूको बदमासीको पोल खुल्ने भएरै त छिर्न दिएनन्।
जस्तो, सिन्धुली जिल्ला फुटबल संघ र भक्तपुर जिल्ला फुटबल संघको २०७९ को निर्वाचनलाई निर्वाचन समितिले रद्द गर्यो। त्यसपछि जाने अपिलमा अनि कोर्ट अफ आर्बिटेसनमा हो। यसबाट मात्र निर्णय हुनसक्छ। तर पंकज विक्रम नेम्वाङ्ग(एन्फा अध्यक्ष) ले दुवै जिल्ला फुटबल संघलाई मान्यता दिएर ल्याए। यस्तो त राणाकालमा पनि हुँदैनथ्यो।
विराटनगरमा पंकज विक्रमले १ करोड पेस्की लिएर ३ करोड घाटा भएको ओमन च्याम्पियनसिपका कुराहरू छन्। किरण राईले प्रदेशमा करोडको हिसाब मिलाएर पछि सफाइ दिएको कुरा छन्। विदेश जाने लोभमा वल्डकप क्वालिफाइमा रंगशालालाई जानाजान अयोग्य बनाएर २० जना पदाधिकारी बहराइन गएको विषय छन्।
अब लिगको स्पोन्सर ४ करोड घटीमा नदिने भनेर कार्यसमितिमा घोषणा भएको छ। तर मेला महोत्सवमा २ करोडमा एउटा कम्पनीलाई दिएको छ। केलमी, केटिएम सिटीसँगको सम्झौता लगायतका भ्रष्टाचारका कुराहरू छन्। सिस्नेरीको एकेडेमीको विषय छ। यी सबै विषय साधारण सभामा उठाउने तयारी थियो। त्यसैले रोके। अरूले बोलेनन्।
गेटमा त्यत्रो लफडा भयो। म र गौरव भित्र छिर्न खोज्दा दिएनन्। प्रहरी र सशस्त्र राखेर रोके। त्यहाँ के भयो सबै सार्वजनिक छ। अझै रमाइलो कुरा के छ भने, तपाईँहरू किन नआएको भन्ने पत्र आएको छ। अदालतको मानहानिमा कारबाहीबाट जोगिन त्यस्तो पत्र पठाए।
तपाईँपछिका एन्फा नेतृत्वले केही कामै गरेनन् त?
नेपालको फुटबलमा फिफाको ठुलो लगानी छ तर त्यसलाई सही सदुपयोग गर्न सकेको छैन। ५-६ वर्षको बिचमा एउटा पनि पूर्वाधार तयार भएको छैन। तर पूर्वाधारका लागि लाखौँ डलर आउँछ।
१० वर्ष अगाडि जे भौतिक पूर्वाधार थियो अहिले पनि त्यही नै छ। अधिकांश खेलाडी त्यही पुरानै छन्। ३-४ जना मात्र नयाँ खेलाडी आए। नयाँ आएका पनि सिंगापुर, कोरियाबाट आएका हुन्, एन्फाको उत्पादन हैन। एन्फा एकेडेमीबाट खै नयाँ खेलाडी आएका? करोडौँ लगानी भइरहेको छ। खै त्यो लगानीको प्रतिफल?
लिगका लागि क्लबसँग खेलाडीको एग्रीमेन्ट १२ महिनाको थियो। त्यो भएपछि वर्षभरि कुन खेलाडी कुन क्लबको भन्ने प्रस्ट हुन्थ्यो। त्यो हटाइयो। बिना रेलिगेसनको लिग सुरु भयो। खेलाडी र क्लबबीचको एग्रीमेन्ट ४ महिनाको हुन थाल्यो।
लिगको पुरस्कार १ करोड पुगेको थियो। घटेर ५० लाखमा झर्यो। २०७२ सालमा मैले छोड्दा त्यो बेलामा लगभग एउटा खेलाडीले बढीमा १ देखी डेढ लाखसम्म कमाउने। त्यो पनि घट्यो।
यस्तो भएपछि लिगको चार्म पनि घट्न थाल्यो, दर्शक पनि घट्न थाले। रेगुलर लिग नभएपछि खेलाडीहरू विदेश पलायन हुन थाले।
हिजोको दिनमा खेलाडीहरूलाई कार, मोटरसाइकल, अपार्टमेन्टको दिने व्यवस्था गरियो। खेलाडीको तलब भत्ताको लागि ८ करोड फिक्स डिपोजिटमा राखिएको थियो। त्यसमा १ रुपैयाँ पनि थपिएको छैन। खेलाडी कल्याण कोषमा ५० लाख रुपैयाँ राखिएको थियो। त्यसमा पनि एक रुपैयाँ थपेका छैनन्।
नेपाली फुटबल खस्केको हो कि क्रिकेटको क्रेज बढेर छायामा परेको हो?
म १९८१ देखी बंगलादेशको टप क्लबमा व्यवसायीक फुटबल खेल्न गएको। त्यही क्लबको क्रिकेट टिम पनि थियो। क्रिकेट टिमका सदस्यहरूले हामीलाई चियाएर हेर्थे। हाम्रो लगाई-खवाई हेर्थे। अब अहिले बङ्गलादेशमा उल्टो भयो। अहिले क्रिकेट खेलाडीको क्रेज त्यो बेलाको फुटबलको जस्तो छ।
हिजो क्रिकेटको फुटबलसँग तुलना नै हुने अवस्था थिएन। नेपालमै फुटबल खेलाडीले कार, अपार्टमेन्ट पाएको देखेर क्रिकेट खेलाडीहरू लोभिन्थे। अब अहिले अवस्था उल्टो भयो।
क्रिकेट खेलको प्रगति भएकोमा खुसी लाग्छ। तर आफू फुटबल खेलाडी भएकोले फुटबलको विकास नहुँदा दुख लाग्छ। क्रिकेटको क्रेज बढ्दैमा फुटबलको क्रेज घट्ने भन्ने हुन्न। फुटबलको फ्यानहरू उस्तै छन्। तर एन्फाले लिगसम्म गर्न सकेको छैन।
लिगको घोषणा त गरिसक्यो त।
२०७९ सालमा बि डिभिजनको लिग गर्ने भनेर राखेको थियो। तर अहिले बल्ल भयो। ए डिभिजन लिगको म्याच पुसमा राखेको रहेछ। यस्तो ताल छ। अब चुनाव आउन लाग्यो अनि लिग गर्ने भनेका हुन्। तर गर्लान् भन्ने विश्वास छैन।
एन्फा पदाधिकारी केमा व्यस्त देखिए त?
विदेश घुम्ने अनि मस्ती गर्ने। नत्र लिग अनि पूर्वाधारलाई फिफाबाट आउने पैसाले प्रशस्तै पुग्छ। तर किन गर्दैनन् त? राम्रो कोच ल्याउन, विदेशमा खेल खेल्न, यूथ लेबलको कार्यक्रम गर्न पैसाको कमी नै छैन। पहिला हामीले एकेडेमी बनायौँ।सयौँ खेलाडी आए। तर अहिले किन नयाँ खेलाडी आएनन्? किनभने एकेडेमी राम्रोसँग चलाएनन्। सिस्टम बिग्रियो। आफ्ना भाइ भारदारहरूलाई राखियो।
नत्र हिजो त्यही एकेडेमीबाट एक सय एक खेलाडी जन्मने अनि अहिले नजन्मने भन्ने हुन्छ त? नयाँ आएका युवालाई कसरी राष्ट्रिय टिममा ल्याउने भन्ने भिजन छैन, प्यासनै छैन। खाली मोजमस्ती गर्ने, विदेश मात्रै जाने भएपछि कसरी विकास हुन्छ ?
नेपाली फुटबल खत्तमै भएको छ। अब अरू के भन्नु।
विपद्को घटनालाई उचालेर राजनीति गर्यो भन्ने आरोप पनि छ नि।
सिस्नेरीको एकेडेमीको कुरा गरेका होलान्। त्यो विपद्को कारण भएको थिएन, एन्फाको लापरबाहीले युवा खेलाडीहरू मारिएका हुन्। त्यहाँ बच्चाहरूलाई भाग भनेको छ। एन्फाको जिम्मेवार व्यक्ति किन उपस्थित नभएको? किन राति नै मुभ नगराएको?
तिनीहरूको बाउआमा अहिले पनि दौडिरहेका छन् न्यायका लागि। एन्फाले दिएको पैसा लिएका छैनन्। म तिनीहरूलाई धोका दिन सक्दिन। मैले मेरो प्रतिबन्ध फुकुवा भएपछि यो कुरा उठाउँछु भनेको थिएँ। उठाएर पनि छाड्छु।
यसको आधार ?
मेरो प्रश्न सिम्पल छ त्यो सिस्नेरी एकेडेमी लगेर राख्ने ठाउँ हो? एन्फामा हामीले २ सय जना बस्ने होस्टेल बनाइदिएका छौँ। ग्राउन्ड पनि छ। तर एकान्तमा लगेर कसका लागि एकेडेमी खोलियो। हस्पिटल छैन, प्रशिक्षण गर्दा लड्यो भने उपचार गर्ने ठाउँ छैन। त्यस्तो ठाउँमा लगेर बच्चाहरू राख्ने? त्यसको नतिजा के आयो? ६ जना युवा खेलाडीको अनाहकमा ज्यान गयो। यसमा छानबिन हुनु पर्छ।
जेठ २, २०८२ शुक्रबार २०:३६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।