मौसम खराब भएपछि उडान प्रभावित, ८ विमान डाइभर्ट

काठमाडौं : हावाहुरी र खराब मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा प्रभावित भएको छ। आन्तरिक उडान पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही अन्तर्राष्ट्रिय विमानहरू आकाशमै फन्को मारेर बसेका थिए।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार हालसम्म विभिन्न एयरलाइन्सका आठ वटा आन्तरिक विमानहरू ‘डाइभर्ट’ भइसकेका छन्। ‘पूर्वबाट काठमाडौं आउने विमानहरू फर्केर पूर्वतिरै गएका छन् भने काठमाडौंबाट पश्चिमतर्फ उडेका जहाजहरू पनि काठमाडौं फर्किएका छन्,’ उनले भने।
चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतबाट उडेका जहाजहरू मौसम खराबीका कारण उडान पूरा गर्न सकेनन्।
श्री एयरलाइन्सको विराटनगर-काठमाडौं जहाज विराटनगर नै फर्कियो भने यती एयरलाइन्सका दुई वटा उडान पनि डाइभर्ट भए। भद्रपुरबाट काठमाडौं उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ।
त्यस्तै, काठमाडौंबाट सुर्खेत जान उडेको बुद्ध एयरको विमान पनि काठमाडौंमै फिर्ता आएको छ। श्री एयरलाइन्सको काठमाडौं-धनगढी र काठमाडौं-भैरहवा उडानका जहाजहरू पनि उडेका स्थानमै फर्किएका छन्।
काठमाडौंबाट सुर्खेत र भैरहवा जान लागेको श्री एयरलाइन्सका दुवै जहाज पनि फर्कनुपर्यो। बुद्ध एयरको काठमाडौं-नेपालगञ्ज उडानसमेत डाइभर्ट भएको छ।
जेठ २, २०८२ शुक्रबार २०:२१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।