राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) स्थायी समितिका उपाध्यक्ष सियाओ जीले आज राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेका छन्। भेट बानेश्वरस्थित संघीय संसद भवनमा भएको हो।
दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको उक्त भेटमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमि सम्झाउँदै पछिल्ला दिनमा सम्बन्ध झनै प्रगाढ बन्दै गएको बताए।
‘भृकुटी र अरनिकोले बनाएको सम्बन्ध सभ्यतासँगै विकसित हुँदै आएको छ। पछिल्ला वर्षहरूमा यो सम्बन्ध अझै मजबुत र आत्मीय भएको छ,’ दाहालले भने। उनले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका भ्रमणहरूले सम्बन्ध गहिर्याउन ठूलो भूमिका खेलेको पनि बताए।
सगरमाथा संवादमा सहभागी हुन आएकोमा धन्यवाद दिँदै अध्यक्ष दाहालले यो संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दामा साझा सहमति र सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गरे।
चिनियाँ उपाध्यक्ष सियाओ जीनले पनि नेपाललाई चीनको असल छिमेकी भन्दै नेपालसँगको सम्बन्ध कूटनीतिक, सांस्कृतिक र सामाजिक हिसाबले विशेष रहेको बताए। उनले नेपालले ‘एक चीन नीति’ प्रति देखाएको प्रतिबद्धताको खुलेर प्रशंसा गरे।
‘नेपालले आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नीति अपनाएकोमा हामी धन्यवाद दिन्छौं,’ उनले भने।
जलवायु परिवर्तनका चुनौती र अवसरका सन्दर्भमा पनि उनले नेपाल र चीन दुबै ट्रान्स-हिमालयन देश भएकाले सहकार्य आवश्यक रहेको बताए।
भेटमा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल, नेपालका लागि चिनियाँ राजदूत छेन् सोङलगायत दुवै पक्षका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
जेठ २, २०८२ शुक्रबार २०:०७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।