‘वायु सेवा निगमलाई पैसा दिनु बाँदरको हातमा नरिवल दिनु जस्तो हो’

‘वायु सेवा निगमलाई पैसा दिनु बाँदरको हातमा नरिवल दिनु जस्तो हो’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल वायु सेवा निगमलाई सरकारले ‘धर्मपुत्र’ जस्तो पाल्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क र अगाडिको बाटो विषयक छलफलमा उनले नेपाल वायु सेवा निगमलाई सधैं पैसा दिएर चलाइराख्नु बाँदरको हातमा नरिवल दिन जस्तो भएको बताए।

‘नेपाल वायु सेवा निगमको पहिलेको अवस्था अहिले पनि त्यस्तै छ। सधैं पैसा दिएर चलाउन खोज्नु बाँदरको हातमा नरिवल दिनु जस्तो हो। यसले दुरुपयोग मात्रै गर्यो, केही फाइदा भएन। यसलाई पीपीए मोडेलमा लैजानुपर्छ। सरकारले ‘धर्मपुत्र’ जस्तो पाल्नै पर्दैन। आजसम्म पनि निगमको अवस्था त्यही छ।’

उनले इमानदारीसाथ काम गर्न डराउनु नपर्ने पनि बताए। ‘हाम्रो संगठन गाउँघरका लिंडे गोरु जस्तो छन्, त्यसैले राम्रो नतिजा आउन सकेको छैन। हिजो हाम्रो मन्त्रालयमा बाढी आयो, मलाई पनि मुद्दा लागेको छ, यस्तो अवस्था छ। तर इमान्दारीसाथ काम गर्यो भने एक पैसा पनि दायाँबायाँ हुँदैन। डराउनु पर्दैन,’ उनले भने।

कमान्डरले गल्ती गरेपछि उनलाई जिम्मेवारी दिनु पर्ने र मुख्य अपराधीमाथि कारबाही हुनुपर्ने तर सबैलाई सजाय दिने चलन गलत रहेको उनले बताए।

जेठ २, २०८२ शुक्रबार १८:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।