राजावादीलाई निषेध गरे विद्रोह गर्ने लिङ्देनको चेतावनी

राजावादीलाई निषेध गरे विद्रोह गर्ने लिङ्देनको चेतावनी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई कडा चेतावनी दिएका छन् । हिन्दुराष्ट्र र राजसंस्थामा विश्वास राखेकै कारण व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम बढ्दै गएको भन्दै उनले सरकारको यस्तो रवैयाविरुद्ध विद्रोहमा जानुपर्ने बेला आएको बताए।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले भने, ‘हामी हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा छौं भनेर मात्र पटक–पटक बहाना बनाएर पक्राउ गर्ने हो भने औपचारिक रूपमा सरकारले भनिदियोस्, विद्रोहमा जाऔं, जंगल पस भन्नुपर्यो।’

उनको आरोप थियो- देशमा भ्रष्टाचार, अस्थिरता र अधिनायकवाद मौलाउँदै गएको छ, तर त्यसविरुद्ध आवाज उठाउनेहरूलाई उल्टै दण्डित गरिँदैछ । ‘हामी सुशासनको पक्षमा बोल्छौं, भ्रष्टाचार नगर्नु पर्छ भन्छौं, अनि त्यही कारणले कारबाहीको शिकार बन्नुपर्छ भने हामी विद्रोह गर्न पछि पर्दैनौं,’ उनले भने ।

लिङ्देनले सरकार संविधानको भावना विपरीत चलिरहेको आरोप लगाउँदै राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा बोल्नेहरूलाई अपमान पूर्वक प्रहरी खोरमा राख्ने प्रवृत्तिको पनि घोर विरोध गरे ।

‘यो काम मानवअधिकारको उल्लंघन हो, संविधानले दिएको स्वतन्त्रताको अपमान हो,’ लिङ्देनले भने, ‘सरकारको यस्तो गैर जिम्मेवार कार्यको म घोर निन्दा गर्दछु ।’

जेठ २, २०८२ शुक्रबार १७:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।