‘सगरमाथा संवाद’ मा मन्त्री देउवा- अब पनि चुप बसियो भने मानव सभ्यता नै संकटमा पर्छ

‘सगरमाथा संवाद’ मा मन्त्री देउवा- अब पनि चुप बसियो भने मानव सभ्यता नै संकटमा पर्छ

काठमाडौं : नेपालले जलवायु परिवर्तनका नकारात्मक प्रभाव सबैभन्दा तीव्र रूपमा भोगिरहेको भन्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले यसको समाधान ढिला गर्दा सम्पूर्ण मानव सभ्यता नै संकटमा पर्न सक्ने बताएकी छन्।

नेपाल सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा सांसद देउवाले हाम्रा नदी, वन र हिमालले पृथ्वी र वातावरणका लागि अपार योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव हामीले सबैभन्दा बढी झेल्नुपरेको बताइन् । उनले अहिले नै ठोस समाधान ननिकालिए भविष्यमा मानव सभ्यताको अस्तित्व नै खतरामा पर्न सक्ने बताइन् ।

मन्त्री देउवाले हिमाल–दक्षिणी पहाडी क्षेत्रहरूमा पछिल्ला वर्षहरूमा बढेको हिम पग्लन, बाढी–पहिरो र अन्य प्राकृतिक प्रकोपले त्यहाँका बासिन्दाहरूको जीविकोपार्जन नै कठिन बनाएको उल्लेख गरिन।

‘हिमाली क्षेत्रमा बस्ने हाम्रो समुदाय प्राकृतिक स्रोतमा निर्भर छन् । तर पग्लिँदै गरेका हिमाली नदी र अत्यधिक मौसमी अस्थिरताले ती मानिसको अस्तित्वमाथि नै आँच पुर्याइरहेको छ ,’ उनले भनिन्। 

विश्वव्यापी समस्या बनेको जलवायु परिवर्तनविरुद्ध अन्तर्राष्ट्रिय एकता र न्यायपूर्ण सहयोगको आवश्यकता औँल्याउँदै उनले प्रत्यक्ष जोखिममा परेका विकासोन्मुख र कमजोर राष्ट्रहरूले सजिलै पहुँच गर्न मिल्ने ‘क्षति र नोक्सानी कोष’ स्थापना गर्न आह्वान गरिन्।

उद्घाटन समारोहमा जलवायु विज्ञ, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूले समेत नेपालको परिस्थिति र समाधानका उपायमा छलफल गरे।

जेठ २, २०८२ शुक्रबार १७:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।