भक्तपुरमा लागुऔषधको बिगबिगी : २४ घण्टामा ८ जना पक्राउ
 
                    
                    
                    
                    भक्तपुर : भक्तपुरमा लागुऔषध कारोबार र सेवनकर्ता बढ्दै गएपछि प्रहरीले कडाइ सुरु गरेको छ। भक्तपुर प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ८ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पछिल्लो समय विभिन्न जिल्लाबाट आएका व्यक्तिहरूले भक्तपुरलाई लागुऔषध कारोबारको केन्द्र बनाउँदै गएका छन्। उनीहरूले स्थानिय युवाहरूलाई लागुऔषध बेच्ने कार्य व्यापक बनाएकाले प्रयोगकर्ता पनि ह्वात्तै बढेको छ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) माधव बुढाथोकीका अनुसार प्रहरी वृत्त र परिसरबाट खटिएको टोलीले सूर्यविनायक र मध्यपुरथिमिका विभिन्न क्षेत्रबाट पक्राउ अभियान चलाएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका दिनेश लामा, सर्लाहीका सागर लामा, खोटाङका स्वदेश राई, काभ्रेका छिरिङ लामा, बोडेका अमिर बस्नेत, धुञ्चेपाखाका सम्राट राई (नेस्नल), काठमाडौँका विकास लामा र नुवाकोटका हरिनाथ कोइराला रहेका छन्।
दिनेश र सागर लामा बस्दै आएको कोठामा छापा मार्दा ट्रमेनिल ४५१ थान, निटजिकेयर ११९० थान, निटरभेट ७२ थान, पोल्याण्ड प्रजातिको गाँजा ८४० ग्राम, खैरो हिरोइन (ब्राउन सुगर) ९५० मिलिग्राम, दुई थान मोबाइल र ७ हजार रुपैयाँ नगद बरामद गरिएको छ।
त्यस्तै, बोडेबाट पक्राउ परेका अन्य पाँच जनाको समूहसँगबाट इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० थान, स्टेगा १७३ थान, पोल्याण्ड ४६६ थान, नगद ५ हजार र तीन थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, बालकोटमा डेरा गरी बस्दै आएका नुवाकोटका हरिनाथ कोइरालालाई १ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
प्रहरीले सबै पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखी अभियान जारी राख्ने जनाएको छ।
जेठ २, २०८२ शुक्रबार १६:४४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    