झ्याप्प-झ्याप्प जान्छ बत्ती, हितेन्द्र भन्छन्- मैनबत्ती निकाल्नुपर्दैन

झ्याप्प-झ्याप्प जान्छ बत्ती, हितेन्द्र भन्छन्- मैनबत्ती निकाल्नुपर्दैन

काठमाडौं : लामो समय ‘लोडसेडिङ’ भोगेका नेपाल जनताले ‘लोडसेडिङ’लाई बिर्सिसकेका थिए। केही दिन यता फेरी झ्याप्प-झ्याप्प बत्ती जान थालेको छ। गर्मी मौसम भएकाले पनि होला बत्ती गयो की सामाजिक सञ्जाल तातिहाल्छ। सामाजिक सञ्जालमा कुलमानलाई सम्झिने र हितेन्द्रलाई गाली गर्ने ‘ट्रेन्ड’ जो छ। बिहीबार साँझ काठमाडौंका अधिकांश ठाउँमा बत्ती गयो। त्यसपछि हितेन्द्रलाई गाली गर्न सुरू भइहाल्यो। ‘लोडसेडिङ फर्कियो’ भन्दै लेख्न थालियो। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो विषयमा शुक्रबार पत्रकार सम्मेलन नै गर्नु पर्यो। उनको दाबी छ- ‘त्यो अफवाह मात्रै हो, लोडसेडिङ फर्किने हैन।’ शाक्यले भने- मौसमका कारण विद्युत संरचनामा समस्या आएको हो, लोडसेडिङ हैन।

आजभोलि फेरि इन्भर्टर, मैनबत्ती निकाल्नुपर्ने दिन आयो भनेर हल्ला चलाइएको भन्दै नेपालमा अब लोडसेडिङ नफर्किने दाबी गरे। 

‘बिहीबार साँझको समय थियो। ढल्केवर–मुजफरपुर ४०० केभी डबल सर्किट लाइनमा एकैचोटि दुबै सर्किटमा समस्या आयो। कारण थियो- त्यहाँ चलिरहेको हावाहुरी। त्यही लाइनबाट नेपालमा आइरहेको बत्ती एक्कासी बन्द भयो’ शाक्यले भने, ‘बत्ती गयो, हामीले तत्काल नेपालभित्रकै सिस्टमबाट चलाउन खोज्यौं। तर बेलुका लोड बढी हुने बेला भएकोले पुरा आपूर्ति सम्भव भएन।’

‘रक्सौल-परवानीपुर, मैनैया-सम्पतिया, कुशहवा-कटैया १३२ केभी लाइनमार्फत केही आपूर्ति गर्न खोजिएको थियो। तर त्यो पनि धेरै टिक्न सकेन। उत्पादन मागभन्दा कम थियो, ट्रिपिङ्ग भयो र बत्ती झ्याप्प गयो,’ उनले भने।  

विद्युत प्रणालीमा देखिएको समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि प्राधिकरण प्रतिवद्ध रहेको भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि  दीर्घकालिन योजना बनाइ काम गरिरहेको जानकारी दिए।

जेठ २, २०८२ शुक्रबार १६:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।