...त्यो ‘मर्निङ वाक’ नै अन्तिम रह्यो

बुटवल : बुद्धभूमि नगरपालिका-१ बसन्तपुरकी शान्ता खत्री र तिलकुमारी रायमाझी सधैझैं शुक्रबार बिहान पनि मर्निङ वाकमा निस्किए। उनीहरू प्रायः गोरुसिंगे चोक नपुग्दैको शिवालय मन्दिरतिर गइ फर्किने गर्थे।
तर त्यो शुक्रबार उनीहरू उता नहिँडी अर्घाखाँचीतर्फको बाटो हुँदै बसन्तपुर गए। यही सडक खण्डमा पत्थरकोटबाट गोरुसिंगेतर्फ आइरहेको बा ए बी ९५९९ नम्बरको कारले खत्री र रायमाझीलाई ठक्कर दियो। त्यहीँ दिन उनीहरूका लागि अन्तिम भयो। कारको ठक्करबाट दुवै जनाको मृत्यु भयो।
कार सैनामैना नगरपालिका-५ का ३२ वर्षीय खिमराज श्रेष्ठले चलाएका थिए। ठक्करपछि गम्भीर घाइते भएका दुवै जनालाई तौलिहवा अस्पताल लाने क्रममा बाटोमै मृत्यु भयो। प्रहरी निरीक्षक विराट शर्मा पौडेलका अनुसार कार र चालकलाई नियन्त्रणमा लिइसकिएको छ।
श्रेष्ठले प्रारम्भिक बयानमा महिलाहरू बाटो काट्ने क्रममा सडकको बिचमै अलमलिएको कारणले ठक्कर भएको बताएका छन्।
‘बिहान हिड्न निस्कनुभएको रहेछ। अर्घाखाँचीबाट आएको कार समथर भागमा तीव्र गतिमा हाँक्दा दुर्घटना भएको र उहाँहरू (खत्री र रायमाझी) को मृत्यु भएको घटनास्थलमा हेर्दा देखिन्छ,’ वडा अध्यक्ष तेजबहादुर बस्नेतले भने।
वसन्तपुर टोल विकास समितिका अध्यक्ष सुशील बस्नेतले पनि दुःख व्यक्त गर्दै भने, ‘तीव्र गतिको कारले ठक्कर दिँदा हामीले छिमेकी गुमाएका छौँ।’
रायमाझीका तीन छोरा छन्- दुई विदेशमा, एक घरमा छन्। खत्रीका दुई छोरा छन्। कार चालक श्रेष्ठ कुलायन पूजाबाट फर्कंदै थिए।
‘गाडीमा प्रसाद समेत थियो परिवारका अरु सदस्यहरू पनि गाडीमै भएकै अवस्थामा ठक्कर दिएको रहेछ’, टोल विकास समितिका अध्यक्ष बस्नेतले बताए।
श्रेष्ठ केही समयअघिसम्म सैनामैनामा पत्रकारिता गर्दै आएका थिए। अहिले उनी लुम्बिनीमा होटल चलाइरहेका छन्।
जेठ २, २०८२ शुक्रबार १५:१२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।