डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न, रणनीति निर्माणमा सहयोगी हुने विश्वास

महोत्तरी : मधेश प्रदेशमा पहिलोपटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ वैशाख ३१ गते बर्दिवासमा सम्पन्न भएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा आयोजित कन्क्लेभले प्रदेशको डिजिटल भविष्यमाथि बृहत् छलफल गरेको छ।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ भन्ने थिममा आधारित कन्क्लेभमा तीन कीनोट, छ वटा प्यानल सेसन र ३० भन्दा बढी विशेषज्ञको सहभागिता रह्यो। डिजिटल पूर्वाधार, शिक्षा, एआई, डेटा सुरक्षा, स्टार्टअप, नीति र गभर्नेन्सलगायत विषयमा छलफल गरियो।
मुख्यमन्त्री सतीश कुमार सिंह, मन्त्रीहरू, सांसद, विज्ञ र सरोकारवालासहित ३०० बढीको उपस्थिति रहेको कार्यक्रममा डिजिटल इनोभेसन आइडिया र इनिसिएटिभहरूको समेत प्रदर्शन गरियो।
खल्तीका सहसंस्थापक अरविन्द साह, डायनामिक टेक्नोसफ्टका सीईओ दीपक साह र स्किल स्पार्ककी सिर्जना झालाई डिजिटल च्याम्पियन को रूपमा सम्मान गरिएको थियो।
मुख्यमन्त्री सिंहले मधेशमा डिजिटल सम्भावना उच्च रहेको भन्दै प्रदेश सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताए। सचिव विमल प्रसाद बरालले कन्क्लेभले योजनाबद्ध ढंगले डिजिटल मधेशको दिशानिर्देश गर्ने अपेक्षा व्यक्त गरे।
यसअघि डिजिटल कर्णाली कन्क्लेभ पनि आइसिटी फाउन्डेसनले कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरिसकेको छ।
जेठ २, २०८२ शुक्रबार १४:२८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।