बुटवल-भैरहवामा हुन्डाईको ‘क्रेटा ईभी’ भव्य सार्वजनिक समारोह, ३० युनिट बुकिङ र १० हस्तान्तरण
बुटवल : हुन्डाई नेपालले बुटवल-भैरहवा क्षेत्रमा नयाँ क्रेटा इलेक्ट्रिक भेइकलको सार्वजनिक प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. अन्तर्गतका सिद्धि विनायक मोटोकर्प (बुटवल) र जगत मोटर्स (भैरहवा) को संयुक्त आयोजना रहेको सो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ।
कार्यक्रममा ३० भन्दा बढी क्रेटा ईभी बुकिङ भएको जनाइएको छ भने १० युनिट सवारी साधन तत्कालै ग्राहकलाई हस्तान्तरण गरिएको छ। यसले स्थानीय उपभोक्ताबीच हुन्डाईप्रतिको उच्च विश्वास र भरोसा प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ।
हुन्डाई नेपालका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीप्रतिको अन्योल हटाउने विश्वास गरिएको छ। विशेषगरी स्पेयर पार्ट्स, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टबारे रहेका शंकाहरू हटाउन यो मोडलले योगदान गर्ने बताइएको छ। पेट्रोल संस्करण जस्तै क्रेटा ईभी पनि एउटै प्लेटफर्ममा आधारित भएकाले बिक्रीपछिको सेवामा सहजता हुने कम्पनीको दाबी छ।
विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ पूर्वाधार विस्तार गर्न कम्पनीले ‘रि-ल्याक्स’ चार्जिङ नेटवर्क देशभर विस्तार गरिरहेको छ। हालसम्म ६६ स्थानमा डीसी र एसी चार्जरहरू सञ्चालनमा आइसकेका छन्।
कम्पनीका उच्च व्यवस्थापन टोलीले देशका विभिन्न सहरमा डिलरसँग प्रत्यक्ष भेटघाट गर्दै अभियान सञ्चालन गरिरहेको छ। बुटवलको बुद्ध भिल्ला, मणिग्राममा आयोजित कार्यक्रममा क्रेटा ईभीसहित हुन्डाईका अन्य नयाँ मोडलहरू पनि प्रदर्शनीमा राखिएका थिए।
हुन्डाई नेपालले कार्यक्रम सफल पार्न योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै स्वच्छ र स्मार्ट भविष्यको यात्रामा ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
जेठ २, २०८२ शुक्रबार १४:२०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।