३१ अर्बको बजेट ल्याउँदै लुम्बिनी प्रदेश

बुटवल : घाटाको बजेट ल्याउँदै आएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ३१ अर्ब हाराहारीको ल्याउने तयारी गरेको छ। बढीमा ३३ अर्ब नबढ्ने गरी बजेट बनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन्।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो। राजस्व परिचालन, बजेट कार्यान्वयन र आयोजना छनोट हचुवामै गर्दा सरकारले हरेक वर्ष घाटाको बजेट ल्याउँदै आएको छ।
सरकारको असक्षमताकै कारण उठाउनुपर्ने राजश्व समेत उठाउन सकिरहेको छैन। सरकार सञ्चालन खर्च समेत प्रदेशको आन्तरिक स्रोतबाट पुग्दैन।
संघ सरकारको वित्तीय समानिकरण अनुदानकै भरमा प्रदेशले बजेट बनाउँदै आएको छ। तर, उक्त अनुदानमा व्यापक कटौती हुँदा पनि मुख्यमन्त्री आचार्य सानो आकारको बजेट बनाउनुपर्ने दबाबमा छन्। संघ सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको सिलिङमा डेढ अर्बले घटाएर पठाएको छ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटको सिलिङ घटेर आएकाले आगामी बजेट ३१ अर्ब हारहारीको हुने बताए।
‘संघीय अनुदानकै भरमा बजेट ल्याउने हो। हाम्रो स्रोत भनेको १५ प्रतिशत मात्र हो। त्यसैले यस पटक घाटाको बजेट नल्याउने गरी बजेट तयार गर्ने काम भइरहेको छ’ उनले भने।
कार्कीले भने झै लुम्बिनीले आफ्नो आन्तरिक स्रोतबाट १५ प्रतिशत मात्र व्यवस्थापन गर्न सक्छ भने ८५ प्रतिशत संघीय अनुदानमा निर्भर हुनुपर्ने अवस्था छ।
चालू आवमा ५ लाख रूपैयाँभन्दा कमका ४ हजार ४ सय र १० लाखभन्दा कमका ८ हजार २ सय योजना छन्।
‘नयाँ ठूला योजना भन्दा पनि चालु अवस्थाका योजनाहरूकै लागि बजेट दिइन्छ। ठूला योजना अघि सार्नुपर्ने अवस्था छैन’, मन्त्री कार्कीले भने।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीलेले पनि यस पटक टुक्रे कार्यक्रमलाई निरुसाहित गर्ने गरी बजेट बनाउन लागिएको बताए।
टुक्रे कार्यक्रम धेरै हुँदा बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै मुख्यमन्त्रीले घाटा बजेट नल्याउन निर्देशन दिएकाले सोही अनुसार बजेट निर्माणको तयारीमा जुटेको बताए।
उनले ३० लाखभन्दा कमका योजनालाई प्राथमिकता नदिने गरी बजेट बनाउन लागिएको बताए। यस बर्षको बजेटले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकता दिने उनको भनाइ छ।
जेठ २, २०८२ शुक्रबार १४:१०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।