शंकास्पद देखिएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा अस्वीकृत

बुटवल : जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले ईमेलमार्फत पठाएको हस्तलिखित राजीनामा पत्र प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। पत्र शंकास्पद देखिएको र हस्ताक्षर नमिलेको भन्दै सचिवालयले तत्कालका लागि राजीनामा स्वीकृत गर्न नसकिने बताएको हो।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सचिवालयको आधिकारिक ईमेलमा राजीनामा पत्र प्राप्त भए पनि त्यसको प्रकृति शंकास्पद लागेकाले अस्वीकृत गरिएको जानकारी दिए। उनले पत्रमा उल्लिखित हस्ताक्षर र यसअघि सचिवालयमा बुझाइएका आधिकारिक कागजातमा रहेका हस्ताक्षरबीच फरक देखिएको समेत बताए।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ की स्थायी बासिन्दा गुरुङ लामो समयदेखि छोराछोरीसँग बेलायतमा बस्दै आएकी छन्। मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको भन्दै उनका श्रीमान् कैलाश गुरुङले सो पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
कैलाश गुरुङ तिनै व्यक्ति हुन्, जो सिके राउत नेतृत्वको जनमत पार्टीबाट चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। उनी जनमत पार्टीको केन्द्रीय सदस्य थिए। श्रीमानले राजीनामा सार्वजनिक गरेलगत्तै प्रदेशसभा सचिवालयले पत्र प्राप्त भएको पुष्टि गरेको थियो।
सचिव पुनले राजीनामाको वैधानिकता पुष्टि गर्न थप विवरण माग गरिएको र आवश्यकता परेमा स्वयं प्रदेशसभामा उपस्थित हुन भनिएको जानकारी दिए। उनले राजीनामा पत्रमा रहेको हस्ताक्षर र यसअघि सचिवालयमा उपलब्ध गराइएका कागजातका हस्ताक्षर फरक देखिएको कुरालाई अस्वीकृतिको मुख्य कारणका रूपमा औंल्याए।
‘हामीले पत्र शंकास्पद देखिएकाले थप विवरण मागेका छौँ। नभए स्वयं उपस्थित हुन भनेर पत्रचार गरेका छौँ’, सचिव पुनले भने ।
यता, जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले सांसद गुरुङले पार्टीको केन्द्रीय नेतृत्व वा प्रदेश कमिटीसँग कुनै सल्लाह नगरी राजीनामा दिएको बताए। आफूले पनि सञ्चारमाध्यममार्फत मात्र राजीनामाबारे जानकारी पाएको उनको भनाइ छ।
नेता गुप्ताले भने, ‘उहाँ निर्वाचित भए पनि सदनमा नियमित उपस्थित हुनु भएन, पार्टीको सम्पर्कमा पनि नरहने अनि यसरी बिना सरसल्लाह राजीनामा आएको थाहा पाएपछि हामी उहाँलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउँछौँ।’
पार्टीले सांसद गुरुङको क्रियाकलाप र राजीनामा प्रयासबारे थप छलफल गरी आवश्यक कदम चाल्ने उनको भनाइ छ।
सांसद गुरुङ बेलायतमा बढी समय बिताउने भएकाले प्रदेशसभा बैठकमा उनको उपस्थिति न्यून रहने गरेको छ। प्रदेशसभा सचिवालयका अनुसार, पाँचौं अधिवेशनसम्मका कुल ८३ बैठकमा उनी जम्मा ३४ दिन मात्र उपस्थित भएकी थिइन्।
यसमध्ये, चौथो अधिवेशनका ७३ बैठकमा ३२ दिन र पाँचौं अधिवेशनका १० बैठकमा जम्मा २ दिन मात्र उनको उपस्थिति थियो। उनको यो न्यून उपस्थितिबारे पार्टीभित्र पनि असन्तुष्टि रहेको देखिन्छ।
सचिवालयले थप विवरण वा स्वयम् उपस्थितिको आग्रह गरेपछि मात्र राजीनामाबारे अन्तिम निर्णय हुनेछ।
जेठ २, २०८२ शुक्रबार १३:४२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।