राजस्व छलीको आरोपी व्यवसायी खरेल र खनाल २० लाख धरौटीमा रिहा

बुटवल : राजस्व छलीको आरोपी बुटवलका व्यवसायीद्वय दधिराम खरेल र जगन्नाथ खनाल २० लाख धरौटीमा रिहा भएका छन्।
उच्च अदालत बुटवलमा बिहीबार भएको थुनछेक बहसपछि उनीहरू दोषी होइनन् भन्न नसकिने ठहर गर्दै उनीहरूलाई २० लाख धरौटी लिइएको हो।
महंगा गाडीका पार्ट्सको कारोबार गर्दै आएका व्यवसायीद्वय खरेल र खनालविरुद्ध राजस्व छलीको कसुरमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको थियो।
उनीहरूले बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा शुभलक्ष्मी अटो लिंक प्रालिमार्फत गाडीहरुको वर्कसप र मोटर पार्ट्सको कारोबार गर्दै आएका छन्।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो।
शुभलक्ष्मी अटो लिङ्क प्रालिको वर्कशप र गोदाममा खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा बीलबिजक, खरिद खाता, बिक्री खाता र अन्य आवश्यक कागजात तथा मालवस्तुको अध्ययन अनुसन्धान गर्दा राजस्व चुहावट भेटिएको उनले जानकारी दिए।
राजस्व अनुसन्धान कार्यालयले मुद्दामा बिगो र शतप्रतिशत जरिवानासहित कुल एक करोड ४४ लाख रुपैयाँ माग दाबी गरे पनि सुरुमा एक करोड ९ लाख रुपैयाँ धरौटी माग गरेको थियो।
कार्यालयले माग गरेको धरौटीभन्दा माथिको रकम अदालतबाट फैसला भएको बखत असुलउपर हुने प्रमुख राजस्व अधिकृत घिमिरेले बताए।
जेठ २, २०८२ शुक्रबार १३:२०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।