नियमावली विपरीत पेलेर जान खोजे सभामुख, विपक्षीले अडान नछोडेपछि बैठक स्थगित

काठमाडौं : अर्थमन्त्री नआएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
आगामी आर्थिक वर्षको विनयोजन विधेयकको सिद्धान्त र प्राथमकितामाथि छलफल हुने कार्यसूची तय भए पनि अर्थमन्त्री नै अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
बैठकको सुरुमा आकस्मिक र शून्य समयमा सांसदहरुले आफ्ना कुरा राखिसकेपछि सभामुखले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु गर्न लागेपछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेत हितराज पाण्डेले यसको विरोध गरेका थिए।
पाण्डेले प्रतिनिधिसभाको नियमावली २०७९ को दफा ६ को उपदफा ५ को ध्यानाकर्षण गराए। उक्त उपदफामा कुनै पनि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थिति हुनुपर्नेछ भनिएको छ। उनले अर्थमन्त्रीको उपस्थितिपछि मात्र बैठक सञ्चालन गर्न आग्रह गरे।
यसमा सभामुख देवराज घिमिरले अर्थमन्त्री सगरमाथा संवादमा सहभागी हुन गएको र केहीबेरमा आइहाल्ने भन्दै बैठक सञ्चालन गर्दै जाँदा आउने भन्दै पेलेर जान खोजेका थिए। तर, हितराज पाण्डेले पुनः बोल्दै अर्थमन्त्री नआएसम्म सदन चल्न नहुने अडान दोहोर्याए।
त्यसपछि मात्र सभामुख घिमिरेले बाध्य भएर संसद बैठक स्थगित गरेका थिए।
जेठ २, २०८२ शुक्रबार १२:२४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।