पोखराका निजी विद्यालय सञ्चालकहरूले शिक्षा मन्त्री थर्काएपछि...

काठमाडौं : नेपालको निजी क्षेत्र कतिसम्म शक्तिशाली छ सत्ता परिवर्तनको समयमा देखिहाल्छन्। कुनै अमुक व्यापारीको घरमा सत्ता ढाल्ने र सत्ता बनाउनेबारे चर्चा हुने गरेको हामी सबैले देखेकै हो। चाहे ती व्यापारी रामेश्वर थापा हुन् वा दुर्गा प्रसाईं।
पछिल्लो समय नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य व्यापारी रामेश्वर थापाको घरमा भयो। त्यसअघि एमाले र माओवादी केन्द्रको एकताअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा ‘मार्सी डिनर’ भयो।
नेपालको राजनीतिमा व्यापारी अनि व्यवसायीको यो हदसम्मको शक्ति प्रदर्शन माथि मात्र नभएर तल्ला तहसम्मै देखिन्छन्। उनीहरू प्रधानमन्त्री बनाउने र ढाल्ने तहसम्म पनि पुगेका छन्। प्रधानमन्त्रीलाई समेत प्रलोभनमा पार्ने निजी क्षेत्रले क्याबिनेट मन्त्रीलाई हप्काउनु, फकाउनु वा थर्काउनु नौलो कुरा रहेन अब।
केन्द्रमा रहेका निजी क्षेत्रका संगठनहरूले मन्त्री र नेता हप्काएको समान्य भइसकेको अवस्थामा पोखरामा रहेका केही निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरूले निवर्तमान शिक्षमन्त्रीलाई थर्काएको खुलेको छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एक टेलिभिजन अन्तर्वार्तामा यसबारे खुलासा गरेकी हुन्।
उनले भनिन्, ‘पोखराका निजी तथा संस्थागत विद्यालयहरूले तपाईंले यो अनिवार्य र निःशुल्क शिक्षा भन्दै जुन कुरा गर्नुभाछ, यो तपाईंको लागि राम्रो कुरा होइन भन्दै थ्रेट गरेका उदाहरणहरू मसँग छन्। तपाईं अर्कोपटक चुनाव लड्नुपर्छ कि पर्दैन भन्नेसम्मका प्रश्नहरू ममाथि आएका हुन्।’
भट्टराई कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य हुन्। उनी त्यस क्षेत्रबाट लगातार दोस्रो पटक एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन्। पहिलो कार्यकालमा सांसद मात्र रहेकी उनी प्रतिनिधि सभा सदस्यको दोस्रो कार्यकालमा भने नौ महिना मन्त्री बनिन्।
जेठ २, २०८२ शुक्रबार ११:१२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।