प्रधानमन्त्री र अर्थमन्त्री निजी विद्यालयबारे बढी चिन्तित हुनुहुन्छ : विद्या भट्टराई

प्रधानमन्त्री र अर्थमन्त्री निजी विद्यालयबारे बढी चिन्तित हुनुहुन्छ : विद्या भट्टराई

काठमाडौं : निवर्तमान शिक्षामन्त्री एवं एमाले सांसद विद्या भट्टराईले राजीनामा दिएर आफूले प्रधानमनत्री केपी शर्मा ओलीलाई सजिलो बनाइदिएको बताएकी छन्।

‘राजीनामा दिएर प्रधानमन्त्रीलाई सजिलो बनाकै हो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीलाई असहज भाको कुरा जब मन्त्रीले महसुस गर्छ नि, त्यसपछि त राजीनामा दिनुपर्यो नि त!’

ईमेज टेलिभिजनको कार्यक्रम हटसिटमा कुराकानी गर्दै उनले अस्वस्थताका कारण देखाउँदै राजीनामा दिँदा प्रधानमन्त्री ओलीलाई सजिलो भएको बताएकी हुन्।

आफूले नागरिकलाई खुसी बनाउने गरी काम गर्दा आफूले मात्र फाइदा पाउनुपर्छ भन्ने स्वार्थ समूहलाई खुसी बनाउन नसकेको उनको भनाइ थियो।

विद्यालय शिक्षालाई कुन हिसाबले लैजाने भन्ने विषयमा राजनीतिक स्पष्टता नभएको भन्दै उनले कांग्रेस र एमालेको दुवै नेतृत्वमा शिक्षालाई निःशुल्क बनाउन सक्दैनौं भन्ने मान्यता रहेको बताइन्।

उनले थपिन्, ‘शिक्षालाई हामी निःशुल्क बनाउन सक्दैनौं भन्ने अवधारणा अर्थमन्त्री र प्रधानमन्त्रीमा देखेँ। अहिले भएका निजी विद्यालयहरूको सम्पत्तिको रक्षा कसरी गर्ने भन्नेमा उहाँहरू बढि चिन्तित हुनुहुन्थ्यो।’

कानुनसम्मत रूपमा निजी तथा संस्थागत विद्यालयहरूप्रति निर्मम बन्दा र अनिवार्य निःशुल्क शिक्षा ऐन लागू गर्न खोज्दा साथ नपाएको भट्टराईको गुनासो छ।

उनले भनिन्, ‘अनिवार्य निःशुल्क शिक्षा ऐन कसरी लागू गर्ने भन्नेबारेमा प्रधानमन्त्रीज्यूमा पनि मैले स्पष्टता देखिनँ। र उहाँले त्यो ऐन लागू गर्न अगाडि बढ भनेर भन्न सक्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयको संगठन प्याबसनको कार्यक्रममा गएर निजी शिक्षमा लगानी गर्न आग्रह गरेका थिए। उनले अत्याधिक नाफा ननिकाल्न र आफू पनि जोगी नहुन आग्रह गर्दै निजी विद्यालयहरूप्रति नरम रुख अपनाएको मन्त्री भट्टराईको भनाइ छ।

‘प्रधानमन्त्रीले प्याबसनको कार्यक्रममा गएर जे कुरा बोल्नुभयो, त्यो बोल्न हुन्थेन,’ उनले अगाडि भनिन्, ‘संविधानले दिएको म्यान्डेड र उहाँ नै प्रधानमन्त्री भएको बेलामा बनेको ऐन कार्यान्वयन गर्नुपर्दैन?’

जेठ २, २०८२ शुक्रबार १०:३७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।