‘झिल्को’ले आगो बाल्न सकेन, अब ‘कार्की साइँला’कै भरमा वर्षा

‘झिल्को’ले आगो बाल्न सकेन, अब ‘कार्की साइँला’कै भरमा वर्षा

काठमाडौं: अभिनेत्री वर्षा सिवाकोटीलाई त फिल्म ‘झिल्को’बाट ठूलै आशा थियो। केही वर्षअघि ‘झोला’जस्तो कमालको फिल्म बनाएका निर्देशक यादव भट्टराईसँग काम गर्दै थिइन् उनी। तर, फिल्मले बजार हल्लाउँछ भन्ने उनको धोको अधुरै रह्यो।

अधुरो नहोस् पनि किन? फिल्म बनाउने टिमले प्रचारप्रसारमा पटक्कै ध्यानै नदिएपछि। पहिलाको जमाना जसरी फिल्म बनाएपछि चल्छ भन्ने भ्रमले गर्दा हलसम्म फिल्म पुगेको दर्शकले पत्तै पाएनन्।

निर्माण पक्षले उनलाई फिल्म प्रचारका लागि आवश्यकै ठानेनन्। निर्देशक दुई चार मिडियामा अन्तर्वार्ता दिँदैमा ढुक्क देखिन्थे। तर जब फिल्म हलमा लाग्यो, फिल्म पत्तासाफै भयो। दुई दिन पनि हलमा टिक्न सकेन।

फिल्म नचलेपछि फ्लप फिल्मको ट्याग वर्षाको नाममा टाँसिने भइ नै हाल्यो। फिल्म बुझेकी वर्षाले त यो तालमा फिल्म चल्दैन भन्ने पहिले नै थाहा नहुने कुरै भएन। त्यसैले होला, आफ्नो करियरमा फ्लप फिल्मको हिरोइनमा नाम जोडिएपछि निर्माण पक्षसँग मन दुखाइन्।

मन अमिलो पार्दै सिधै सामाजिक सञ्जालमै उत्रिइन् उनी। प्रस्तुति राम्रो भएर मात्र हुँदैन, प्रचारप्रसार र बजार व्यवस्थापन पनि उस्तै जरुरी हुने रहेछ भनेर मनको बह पोखिन्!

झिल्कोले आगो बाल्न नसकेपछि चित्त दुखेर होला, उनले ‘कलाकारले जतिसुकै मेहनत गरे पनि अहिलेको जमानामा प्रचारबिना केही गर्न सक्दैनन् है!’ भन्दै लामै स्टाटस लेखिन्। चित्तै दुखेर त्यस्तो स्टाटस लेखेपछि चाहिँ उनलाई सम्झाउनेको लर्कै लाग्यो रे!

हुन त, एउटा फिल्म डुब्दैमा वर्षालाई कामको कमी भने भएको छैन। उनका कोठामा स्क्रिप्टका ‘ठेली’ नै छन् अहिले पनि! यतिबेला फिल्म ‘कार्की साइँला’को सुटिङमा व्यस्त उनी यसपछि ‘महाराजधिराज’को काममा व्यस्त हुनेछिन्।

आशलाग्दो ‘झिल्को’ ओसिएर डुबेपछि अब वर्षालाई ‘कार्की साइँला’ र ‘महाराजधिराज’कै भर छ। यसले के गर्ला त? त्यो हेर्न भने रिलिज मिति कुर्नैपर्ला!

जेठ २, २०८२ शुक्रबार ०९:४५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।