प्रिमियरमा चुपचाप सेलिब्रेटी, निश्चल र आर्यनले भने- ‘अब बोल्ने पालो दर्शकको’

प्रिमियरमा चुपचाप सेलिब्रेटी, निश्चल र आर्यनले भने- ‘अब बोल्ने पालो दर्शकको’

काठमाडौं : फिल्म प्रिमियरमा पुगेका आफन्त वा सेलिब्रेटीहरू नराम्रो लागे पनि सिनेमालाई प्रायः ‘गज्जब’ बनेको प्रतिक्रिया दिन्छन्। पाहुना बनेर गएकाले फिल्म जस्तोसुकै भए पनि राम्रो भन्नुपर्ने बाध्यता एकातिर छ भने, क्यामेराअघि ‘झुर’ भनिए साथी रिसाउने र दर्शक हलसम्म नजाने चिन्ता अलग्गै भइहाल्यो।

तर, आजबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा २’ का निर्देशक दीपेन्द्र के खनालले भने यसपटक प्रिमियरमा फरक शैली अपनाए। उनले सेलिब्रेटीभन्दा सर्वसाधारणलाई प्रिमियरमा बोलाएर जस्तो हो त्यस्तै प्रतिक्रिया दिन आग्रह गरे।

फिल्म सुरु हुनुभन्दा एक मिनेटअघि समय लिएर निर्देशक खनालले पाहुनाहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न सुझाए। यसका अलावा आफ्नो टिमले फिल्मको बारेमा नबोल्ने घोषणा गरे। यो घोषणापछि अभिनेता निश्चल बस्नेत, आर्यन सिग्देलजस्ता कलाकारले ‘अब बोल्ने पालो दर्शकको हो, हामी बोल्दैनौँ’ भन्दै तर्किए।

खगेन्द्र लामिछाने पनि प्रतिक्रिया नदिने मुडमा देखिए। हलको ढोकाछेउमा उभिएका निर्देशक खनाल कसले के प्रतिक्रिया दिन्छन् भनेर अरुसँग गफिए झैँ गरिरहेका थिए। उनले फिल्म कस्तो लाग्यो भनेर पार्क, मल वा बाटोमा भेटिएका १८० जना सर्वुसाधारणको प्रतिक्रिया सुन्न चाहेका थिए। प्रिमियरमा गरिने प्रशंसा ‘झुठा’ हुन थालेको र सर्वसाधारणले पत्याउन छाडेकाले आफूले नयाँ शैली अपनाएको उनको भनाइ थियो।

‘प्रिमियरमा हुने प्रशंसा झुठा हुन थाले, सर्वसाधारणले पत्याउने अवस्था छैन,’ प्रिमियरअघि उनले यसो भने तापनि सञ्चारकर्मीले सेलिब्रेटीलाई नछोड्ने कुरै भएन। कन्टेन्टको खोजीमा पुगेका उनीहरूले अभिनेत्री मनिषा कोइराला, गायिका अन्जु पन्त लगायतसँग फिल्मबारे प्रतिक्रिया लिए। फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीलाई पनि बोल्न खसखस लागिरहेको देखिन्थ्यो।

दुईवटा हल खचाखच भरिएको प्रिमियरमा हल्लाका कारण कसले के भने, ठ्याक्कै सुन्न भने पाइएन। जे होस्, निर्देशक खनालले फिल्मको समीक्षा जस्तो आए पनि त्यसलाई स्वीकार्ने आँट गरे, जुन आफैँमा ठूलो कुरा हो।

जेठ २, २०८२ शुक्रबार ०९:१०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।