सगरमाथा संवाद आजदेखि सुरु, १७५ विदेशी पाहुना काठमाडौंमा

काठमाडौं : जलवायु परिवर्तन र त्यसका असरबारे विश्वलाई जानकारी गराउने र समाधानका उपाय खोज्ने उद्देश्यले सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ। चार दिनसम्म चल्ने यो कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको मूल नारा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ राखिएको छ। संवादमा १७५ विदेशी पाहुनासहित करिब यति नै सङ्ख्यामा नेपाली सहभागी हुने परराष्ट्रमन्त्री तथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले जानकारी दिइन्।
१२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने यस सम्मेलनमा चीन, भारतलगायतका विशिष्ट पाहुना नेपाल आइसक्नुभएको छ भने अन्य देशका पाहुनाको आगमन जारी छ।
उद्घाटन समारोहमा सगरमाथा संवादको चिनारीसहितको श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ। भारत र चीनका प्रतिनिधिमण्डलका प्रमुख अतिथि, कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायुसम्बन्धी विशेष प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सन्देश पनि प्रस्तुत गरिनेछ। उद्घाटनपछिको ‘प्लेनरी सेसन’ मा सहभागी राष्ट्र र अन्तरराष्ट्रिय तथा क्षेत्रीय सङ्गठनको प्रस्तुति हुनेछ।
आजैदेखि छुट्टाछुट्टै विषयमा समानान्तर सत्रहरू सुरू हुनेछन्, जुन शनिबार साँझ ४:३० बजेभित्र सम्पन्न हुने कार्यतालिका छ। सत्रहरूमा राजनीतिज्ञ, नीति निर्माता, विज्ञ, अनुसन्धानकर्ता लगायतको सहभागिता रहनेछ। जलवायु परिवर्तन र पर्वतीय समस्याका समाधान तथा सम्भावनामाथि गहन छलफल र विचारविमर्श गरिनेछ।
सगरमाथा संवादमा ६१ विदेशी तथा स्वदेशी संस्था सहभागी हुनेछन्, जसमा सार्क, बिम्स्टेक, विश्व बैंक, एडीबी, विश्वविद्यालय, अनुसन्धान संस्था, नागरिक समाज तथा गैरसरकारी संस्थाहरूसमेत छन्।
कार्यक्रम व्यवस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गरिएको छ। व्यवस्थापन समितिमा परराष्ट्रमन्त्री डा. राणा देउवा संयोजक र वनमन्त्री ऐनबहादुर शाही ठकुरी सहसंयोजक छन्। सचिवालय भने मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ।
तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउन पर्वतीय उडानको व्यवस्था गरिएको छ। त्यस दिन नै ‘काठमाडौँ घोषणा’ जारी गरिने सचिवालयका सदस्यसचिव तथा वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए।
नेपालले संरक्षणमा गरेको सफल अभ्यास विश्वसामु प्रस्तुत गर्न र जलवायु सङ्कटको समाधानमा अन्तरराष्ट्रिय अनुभवबाट सिक्न संवाद उपयोगी हुने अपेक्षा गरिएको छ। सन् २०२५ लाई संयुक्त राष्ट्रसङ्घले ‘अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्ष’ घोषणा गरेको सन्दर्भमा यो संवादमा हिमाल र हिमनदीका विषय पनि प्राथमिकताका साथ उठाइनेछ।
सरकारले हरेक दुई वर्षमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरिसकेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको यो मञ्च बहुपक्षीय संवादको एक सशक्त माध्यमका रूपमा स्थापित गर्न लागिएको हो, जसले मानवताको साझा हित र सामूहिक कल्याणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
जेठ २, २०८२ शुक्रबार ०७:२६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।