इन्दुको ब्याटिङ चम्कँदा नेपालले सहजै हरायो बहराइनलाई, सुपर ३ मा पुग्न बहराइनकै भर

काठमाडौँ : आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेको छ।वर्षाका कारण खेल ७ ओभरमा झारिएको थियो। नेपाललाई बहराइनले ५६ रनको लक्ष्य दिएकोमा ८ बल खेल्नु अगाडि नै ४ विकेटको क्षतिमा नेपालले लक्ष्य पुरा गर्यो।
बहराइनलाई हराउन कप्तान इन्दु बर्माको प्रस्तुति निर्णायक बन्यो। उनले आक्रामक ब्याटिङ गर्दै ७ बलमा अविजित रहँदै २४ रन बनाइन्। सम्झना खड्काले ५, रुबी पोदारले १ र पूजा महतो १३ रन बनाएकी थिइन्।
टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको थियो। वर्षाका कारण केही समय खेल रोकियो। लक्ष्य संशोधन हुँदा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पायो।
समूहको अन्तिम खेल हङकङ र बहराइनबीच हुनेछ। नेपाल सुपर ३ मा पुग्न हङकङ पराजित हुनुपर्नेछ। नत्र रन रेटको आधारमा नेपाल बाहिरिने जोखिम छ।
जेठ १, २०८२ बिहीबार १६:५२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।