टेरामक्स खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर, तीन अर्ब २१ करोड बिगो माग

टेरामक्स खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर, तीन अर्ब २१ करोड बिगो माग

काठमाडौं : टेरामक्स खरिदमा अनियमितता गरेको भन्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेतसहित १६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बस्नेतसहितका व्यक्तिले कानुन विपरीत काम गरी अख्तियारको दुरुपयोग गरेको भन्दै गरेको भन्दै आयोगले तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ बिगो लिनुपर्ने मागदाबी गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेलि कम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)को खरिद कार्यमा परामर्शदाताको छनोट गर्दा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार गरेर ‘रिक्वेष्ट फर प्रपोजल’मा सहभागी गराई छनोट गरेर अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

आरोप पत्रमा ‘टेलि कम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) तथा नियन्त्रण गर्न पाउने सो प्रणाली सर्वोच्च अदालतबाट उत्प्रेषणयुक्त परमादेश रिट निवेदनमा भएको आदेश अनुकूलको कुनै कानूनी व्यवस्था पालना नगरेको भनिएको छ।

नागरिकको व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत तवरमा संरचना स्थापना गर्न राज्यको सम्पत्तिको दुरुपयोग गरी हानिनोक्सानी पुर्याइ भ्रष्टाचार गरेको उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा उनी दोषी देखिएको अख्तियारको दाबी छ।

अनुसन्धान हुँदा ‘नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४ग बमोजिम प्राधिकरणले आर्थिक वर्ष २०७४र ७५ को वार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएकोमा प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको टेरामक्सको विषयमा तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको भनिएको छ।

बस्नेतको सोही निर्देशन अनुसार नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले एक आपसमा मिलेमतो गरी सर्वोच्च अदालतबाट रिटका सम्बन्धमा २०७२ माघ २१ मा जारी भएको आदेशको प्रतिकूल र प्रचलित कानून विपरीत कार्यहरु गरी-गराई सार्वजनिक संस्था प्राधिकरणलाई हानि नोक्सानी गर्ने र गराउने कार्य गरेको अख्तियारले जनाएको छ।

भष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएकोले सो कार्यमा संलग्न प्रतिवादीहरूमाथि सजाय हुन मागदावी गर्दै अख्तियारले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको हो। 

को-कोविरुद्ध मुद्दा दायर?
अख्तियारले सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका बस्नेतसहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालका अलावा प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीका प्रसाद उप्रेतीविरुद्ध मुद्दा दायर गरेको हो।

यसका अलावा प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उप-निर्देशकहरू राम पन्थ, सुरेश बस्नेत, सन्दीप अधिकारी र हिरण्यप्रसाद बस्ताकोटी तथा परामर्शदाता ‘भेन्राइज शोलुसन्स एसएएल (अफशोर) र शो कम्पनीका सीईओ जमल अनौटी विरुद्ध मुद्दा दर्ता गरिएको छ। 

अख्तियारले परामर्शदाता कम्पनीको स्थानीय एजेन्ट काठमाडौंस्थित कनेक्शन ट्रेड लिंक प्रालि र सोका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेज प्रसाद खरेलविरुद्ध पनि मुद्दा दायर गरेको छ। यी सबैबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ बिगो लिनुपर्ने मागदाबी अख्तियारको आरोप पत्रमा उल्लेख छ।

बस्नेत स्वास्थ्य मन्त्री हुँदा उनको दश महिने कालमा स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले करिब साढे चार अर्ब रकमको मेसिन तथा उपकरण र स्वास्थ्य सामग्री खरिद गरेको थियो। ती अधिकांश टेण्डर खरिद अनियमितता नै गरेका थिए।

सम्बन्धित समाचार:

जेठ १, २०८२ बिहीबार १४:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।