लुम्बिनी प्रदेश सरकारको बेरुजु एक वर्षमै ६५ करोड बढ्यो, साढे ४ अर्ब नाघ्यो

लुम्बिनी प्रदेश सरकारको बेरुजु एक वर्षमै ६५ करोड बढ्यो, साढे ४ अर्ब नाघ्यो

बुटवल : लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम बढेको छ।

आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा प्रदेश सरकारको बेरुजु ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रुपैयाँ पुगेको उल्लेख छ।

महालेखाले बुधबार मात्रै राष्ट्रपति समक्ष पेश गरेको यस प्रतिवेदनले प्रदेश सरकारहरूको वित्तीय अवस्था र खर्चको पारदर्शितामाथि प्रश्न उठाएको छ।

प्रतिवेदनअनुसार, अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा लुम्बिनी प्रदेशको बेरुजु रकम ६५ करोड ८२ लाख १६ हजार रुपैयाँले बढेको छ।

२०७९/८० मा प्रदेशको बेरुजु ३ अर्ब ९१ करोड ६९ लाख २१ हजार रुपैयाँ थियो।

यद्यपि, कुल खर्चको अनुपातमा हेर्दा बेरुजु दर भने केही घटेको देखिएको छ। २०७९/८० मा १.६० प्रतिशत रहेको बेरुजु दर २०८०/८१ मा १.१३ प्रतिशतमा झरेको महालेखाले जनाएको छ।

बेरुजु देखिनुले सरकारी निकायबाट भएका खर्चमा प्रक्रिया पूरा नभएको, अनियमितता भएको वा अपारदर्शी ढंगले रकम खर्च भएको देखिन्छ।

जेठ १, २०८२ बिहीबार १३:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।