रिटायर्ड ब्रिटिस आर्मी डम्बर : शिक्षकको अन्तर्वार्तामा ‘एबिसिडी आउँछ?’ भनेर सोधे, १९ वर्षे जागिरमा लडाइँ जान पाइनँ

काठमाडौं : अवकाश प्राप्त ब्रिटिस आर्मी डम्बर यक्सो लिम्बु ६६ वर्षका भए। विस.२०१६ सालमा मलेसियामा जन्मिए पनि उनको हुर्काइ पढाई ताप्लेजुङको हाङपाङमा भयो।
ब्रिटिस आर्मीमा रहेका बुवासँग मलेसिया पुगेको परिवार करिब २ वर्षमा ताप्लेजुङ फर्किएको थियो। विस.२०३५ सालमा एसएलसी दिएपछि उनले केही समय शिक्षण पनि गरे।
बुवाको चाहना अनुसार उनी र उनका भाई ब्रिटिस आर्मीमा भर्ना भए। हाल अवकाश जीवन बिताइरहेका उनी साहित्यमा पनि रुचि राख्छन्। बाल्यकाल, शिक्षण अनुभव र सैनिक जीवनका अनुभवहरू उनले उकेराको ‘हिजोको कुरा’ कोलममा यसरी सुनाएका छन्:
धुले स्कुलको त्यो लेखाइ
मेरो पढाइ ताप्लेजुङमा नै सुरू भयो। घर छेउको सानो देवलमा एकजना दाइले क ख सिकाउनुभएको अलि-अलि स्मरण छ। त्यसबेला हामी कट्टु मात्र लगाएर स्कुल जान्थ्यौँ, अहिलेको जस्तो डटपेन/कापी होइन। हरेक विद्यार्थीले एक हातमा पिरा र अर्को हातमा काठको पाटी बोक्नुपर्थ्यो।
पाटीमा चक हुँदैनथ्यो। धुलो छरेर बाँसको सिन्काले लेख्नुपर्थ्यो। सरले पाटीमा जे लेख्नुहुन्थ्यो, त्यो ठ्याक्कै उतार्थ्यौँ। पछि लामो फल्याकमा धुलो मसिलो पारेर लेखिन्थ्यो। सरले ब्याकबोर्डमा खरीको चकले लेख्नुहुन्थ्यो, सिगरेट जस्तो चक त पछि आएको हो। हामीले लेखेको धुलोको अक्षर साथीहरूले बोर्ड हल्लाइदिँदा मेटिन्थ्यो। मेरो अक्षर सबैभन्दा राम्रो हुन्थ्यो र सरले तारिफ गर्दा साथीहरूले बोर्ड हल्लाएर मेटाइदिन्थे। यो पुरानो कुरा अझै मानसपटलमा छ।
यो धुलौटे स्कुलमा खासै छोरी मान्छे पढ्दैनथे। प्रसाईं गाउँमा उनीहरूको बाहुल्यता भए पनि छोरीहरू पढ्दैन थिए, किनकि त्यसबेला पढाउनुपर्छ भन्ने चलन थिएन। मेरो दिदीले पनि पढ्नुभएन।
धुलौटे स्कुल २००६ सालमा लुकी लुकी खोलिएको रहेछ। यसपछि सरस्वती डिएसबी हाई स्कुल (कक्षा १ देखि एसएलसीसम्म) गइयो। यहाँ भने छोरीहरू पनि पढ्न थाले, यद्यपि संख्या कम थियो। मैले ३५ सालमा एसएलसीअघि सेन्टअप दिँदा ४० जना हाराहारी थियौँ, छ जना पास भयौँ जसमा केही छोरी पनि थिए।
हामीले पढेको सरस्वती डिएसबी हाई स्कुलबाट डिएसबी बोर्ड हटेपछि यसको नाम सरस्वती माध्यमिक विद्यालय बन्यो, जुन अहिले उच्च माध्यमिक भइसकेको छ। मैले थाहा पाउँदा पढाइमा कसैलाई विभेद भएको देखिनँ।
जातजातिको कुरा गर्दा हाम्रो गाउँमा प्रसाईं, विष्ट र लिम्बूको मिश्रित बसोबास थियो। हामी एकदमै मिल्थ्यौं, त्यसबेला अहिलेको जस्तो जातजाति वा छुवाछुत थिएन। हामीलाई पढाउने साहित्यकार नरेन्द्रराज प्रसाईंले नै त्यस समयमा अक्षर चिनाउनुभएको हो।
बाल्यकालमा हामी झुम्रो वा मोजाको गोल बनाएर खाली खुट्टा फुटबल खेल्थ्यौँ। अहिलेको जस्तो बल पाइँदैनथ्यो र खाली खुट्टा पहाडी बाटोमा खेल्दा खुट्टा निकै ड्यामेज हुन्थ्यो। अहिलेका विद्यार्थीलाई त्यस्तो अवस्था नहोस् भनेर मैले जन्मदिन जेठ १ गते पढेको ताप्लेजुङको स्कुलमा फुटबल, ३२ जोर जर्सी लगायत खेल सामग्री दिएको छु। पल्टनबाट कमाएको पैसाबाट गाउँलाई केही गरौँ भन्ने लागेर हो।
एसएलसीपछि शिक्षक, बुवाको करले ब्रिटिस लाउरे
३५ सालमा एसएलसी दिएपछि म अलि बरालिँदै थिएँ। त्यही बेला बुवाले मलाई र भाइलाई ब्रिटिस आर्मीमा भर्ती हुन दबाब दिनुभयो। बुवा ब्रिटिस आर्मीको कडा स्वभावको हुनुहुन्थ्यो, उहाँको कुरा नसुनेर भएन। म र भाइ ब्रिटिस भर्तीका लागि धरान आयौँ।
भाइ मभन्दा अग्लो छ, म होचो छु। ‘गल्ला’(हाइट तौल नाप्ने)ले भाइतर्फ देखाउँदै ‘यसको हाइट पुग्छ, यसको त पुग्दैन’ भन्नुभयो। मलाई एकदम चित्त दुख्यो र ननापी फर्किएँ। घर पुगेपछि बुवाले ‘किन आइस?’ भन्नुभयो, मैले ‘हाइट पुगेन’ भनेँ। नापिनँ भन्दा बुवाले ‘हुन्छ म कुरा गर्छु’ भन्नुभयो।
यता भाइ एसएलसी नदिँदै भर्ती भयो, म चाहिँ एसएलसी दिन गएँ। ताप्लेजुङ सदरमुकाम शिक्षा कार्यालयमा डकुमेन्ट बनाउन जाँदा शिक्षक दरबन्दी खुलेको बोर्डमा साथीहरू झुम्म भएको देखेँ। सेन्टअप पास भएकाले निवेदन दिन सकिन्थ्यो। साथीहरूसँग सल्लाह गरी निवेदन दियौँ। भोलिपल्ट अन्तर्वार्तामा बोलाइयो।
शिक्षण पेशामा इच्छा, टाढा जान सक्ने र अंग्रेजी (एबिसिडी) बारे सोधियो। एसएलसी दिएको मान्छेलाई एबिसिडी नआउने कुरै भएन, तर कस्तो नमिलेको प्रश्न जस्तो लाग्यो। बुवाले सिकाएकोले मलाई अलिअलि अंग्रेजी आउँथ्यो।
भोलिपल्ट शिक्षकमा नाम निस्कियो। नियुक्ति पत्र आएपछि जहाँ खटाइएको छ जानु भन्ने कुरा आयो। म पास भइसकेको घरमा कसैलाई थाहा थिएन। ४-५ दिनमा घरैमा नियुक्ति पत्र आयो, निकै माथि परेछु।
ठिकै छ, यसो चाखौँ न त’ भन्ने भयो र बुवालाई शिक्षक काम गर्ने भएँ भनेर सुनाएँ। बुवाले खेतीपातीको बेला ‘के को पढाई हिँड्छस्’ भनेर थर्काउनुभयो।
केही दिनमा म नियुक्त भएको स्कुलमा जागिर नखाने भएँ। मेरो भतिजो हेडमास्टर भएको स्कुलमा कुरा मिलाएर त्यहीँ पढाउन थालेँ। शिक्षकमा ६ महिना काम गरेपछि बुवाले फेरि ब्रिटिस सेनामा भर्तीका लागि नाम लेखाइदिनुभएछ।
मंसिर मसान्तमा परीक्षा कापी जाँच्दै गर्दा उता जानुपर्ने भयो। एसएलसी पास भएपछिको तलब २८० रुपैयाँ बुवालाई ल्याएर दिएँ, जुन त्यसबेला धेरै थियो। बुवा खुसी हुनुभयो, तर उहाँको मन आर्मीमै थियो।
गल्ला खुलेपछि बुवाले नाम लेखाइदिनुभएको थियो। मैले पढाउने स्कुलमा पढ्ने हाङपाङका एक जनाले ‘भोलि जसरी पनि घर पुग्ने, गल्लाको एआरओ सेलेक्सन छ’ भनेर खबर ल्याउनुभयो। एआरओमा ठूलो अफिसरले नाप्थे। घर पुग्नैपर्ने थियो र कापी जाँचेर बुझाउनुपर्ने पनि। जेसुकै होस् भनेर घर हिँडेँ।
रातको ९-१० बजेतिर जंगल बाटो हिँड्दा झुण्ड्याएर मारेको मान्छेको दृश्य आँखैमा झलझली छ, त्यो सम्झँदै दौडिएर घर पुगेँ। बुवा रिसाएकाले बोलचाल भएन। खाना खाएर भोलिपल्टै सेलेक्सनका लागि बुवाआमा र छिमेकीसँग सिटा बालेर हिँड्यौँ। छिमेकी गाउँमै सेलेक्सन भएकाले सजिलो भयो।
रात २ बजे पुग्दा सबै केटाहरू भेला थिए, सुत्ने ठाउँ थिएन, खेतको परालमा सुतेँ। बिहानै ‘भर्ती जान्छस् भने उठ’ भन्दै नाम पुकार्न थालियो। नाम आएकालाई भेडाबाख्रा जस्तै बारेर राखियो। उज्यालो भइहाल्यो।
भेडाबाख्राको जस्तै व्यवहार
गाउँबाट खर्च दिएर धरान पठाइयो। ब्रिटिस आर्मी भर्ती पश्चिम, पोखरा र धरानमा खुल्छ। धरानमा गल्लाले समूह बनाएर हेर्थे, लिडरले निर्देशन दिन्थे। नाम आएकालाई छुट्टै समूहमा राखिन्थ्यो। बल्ल त्यहाँ पुगेपछि खानबस्नको सुविधा पाइयो, नयाँ मान्छेले ह्यान्डल गर्थे।
ब्रिटिस ट्रेनिङ हङकङ वा ब्रुनाईमा हुन्थ्यो, मेरो हङकङमा पर्यो। सबै टेस्ट पास भएपछि बल्ल आर्मी भर्ती नम्बर र लुगा पाइयो। अब तलब पाक्थ्यो। नम्बर र ड्रेस पाएपछि संसारै बदलिन्थ्यो। नम्बर पाउनुअघि ‘ए भाइ/दाई’ भन्ने ठाउँमा ‘ओए, यहाँ आइज’, ‘ओए सिपाही’ भन्न थाले। ‘खैनी खायो भने दाँत भाँच्दिने’ जस्ता कुरा सुनिन्थे। जे भने पनि चुपचाप लाग्थेँ। एकपटक नम्बर ड्रेस पाएपछि छाड्न दिँदैनथ्यो। नियमै कडा।
शिक्षक पेशामै फर्किउ झैँ पनि लाग्यो
ब्रिटिस आर्मीमा पाएको दु:ख सम्झँदा सुरूमा बेकारमा आएछु भन्ने लाग्यो। तर, शिक्षकको २८० रुपैयाँ तलब तुलनामा आर्मीको ११ हजार तलब (सुविधा सहित) ले त्यता आकर्षित गर्यो।
‘यो दु:ख गर्ने ठाउँ हो, दुस्मन मार्न आएका हौँ’ भन्ने जस्तो मानसिकता बनाइदिन्थे। ‘ल ठिकै छ’ भनियो, साथीभाइले पनि ‘यस्तै हो’ भने। उतैतिर भुलियो, बिस्तारै बानी पर्यो र तलब बढ्यो।
मैले १९ वर्ष ब्रिटिस आर्मीमा सेवा गरेँ र अवकाश लिएँ। यो बीचमा मलाई कतै युद्ध लड्न जानु परेन। पूरा तालिम प्राप्त र जोसले भरिपूर्ण भएकाले लडाइँमा जान पाए हुन्थ्यो भन्ने मनमा लाग्थ्यो, तर पाइनँ।
फोकल्यान्ड वार हुँदा म सेकेण्ड बटालियनमा परेँ। लडाइँमा जानुपर्ने तयारी सुरू हुँदा मनमा धेरै कुरा खेल्थ्यो: ‘जानु नै पर्ने हो त? केही गरेर आउनुपर्ला कि मरिएला?’ भगवान, आमाबुवा, साथीभाइ, प्रियसी सम्झिन्थ्यो। लडाइँबाट फर्केका साथीहरू यस्तै अनुभव सुनाउँथे।
फोकल्यान्ड वारमा यूकेबाट पानीजहाज चढेर जानुपर्थ्यो, सन् १९८१/८२ को कुरा हो। ब्याटलफिल्डमा अवतरण भएपछि गोलीगठ्ठा, भारी बोकेर मुभ भइन्थ्यो। गोली, बमको आवाज वा ‘ट्रेजर राउन्ड’ आउँदा आफू जोगिन जान्नुपर्थ्यो।
बिहे गरेकै हप्ता दिनमा पल्टनमा
३६ सालतिर अहिलेको जस्तो मन पराएको मान्छेसँग खुलेर बोल्ने, घुमाउने चलन थिएन। बाटोमा भेट्दा आँखाको इसाराले कुरा गर्थ्यौं। मैले पल्टन जानुअघि एक हप्ता अगाडि नै घर नजिकैकी मन पराएको केटीसँग विवाह गरेँ।
पल्टन गएपछि फर्केर आउँदा तीन वर्ष लाग्थ्यो। समय परिस्थिति के होला भनेर पल्टन जानु एक हप्ताअघि बिहे गरेर श्रीमतीलाई घरमा राखेर गएँ। तीन वर्षपछि हाम्रो भेट भयो। म हवल्दारभन्दा एक तह माथिसम्म पुगेँ।
साहित्य लेख्न पाइँदैन
पल्टनमा हुँदा साहित्य लेखेको मन पराउँदैनथे। स्कुलमा अलिअलि लेख्थेँ तर सुनाउन लजाउँथेँ, साथी (लालकुमार) लाई मात्र सुनाउँथेँ। शिक्षक हुँदा पनि डायरीमा लेख्थेँ। ब्रिटिस आर्मीमा भर्ती भएपछि लेखन कार्य सकियो। त्यहाँ कविता गीत लेखेको मन पराउँदैनथे। समय हुँदैनथ्यो र घरलाई चिठी लेख्नुपर्थ्यो, जसको जवाफ आउनै दुई महिना लाग्थ्यो। त्यसैले भावनामा बग्ने चान्स हुँदैनथ्यो।
कमान्डरले लेखेको थाहा पाए कारबाही नगरे पनि ‘डेढो आँखा’ले हेर्थे र ‘तेरो काम एकातिर, कुम्लोबोकी ठिमीतिर नहिँड्’ भन्थे। उनीहरूको नजर फरक हुन्थ्यो।
एक दिन क्याम्पबाट हाइकिङ जाँदा हङकङमा जोडी-जोडी हिँडेको देखेर घरको सम्झना आयो। त्यसबेला ‘शितल शितल हावा चल्दा’ गीतको शब्द फुर्यो, जुन रेकर्ड भइसकेको छ। यसपछि फेरि लेख्ने मौका जुरेन।
फौजीमा हुँदा मार्सल आर्ट सिक्न गएँ। सिनियरहरूले ‘पढाइ राम्रो छ, त्यतातिर कोसिस गर’ भन्दै सम्झाए। एकातिर सिनियरले ‘टेढो आँखा’ले हेर्ने, अर्कोतिर आफैँले नसक्ने भएपछि १५ दिनपछि छाडेँ। साहित्यको त कुरै भएन। बढुवामा आफन्तवाद हुन्थ्यो। मैले चाकडी गरिनँ, जे भयो ठिकै भयो भन्ने लाग्छ। ब्रिटिसहरूले मलाई खुबै मन पराएकाले आफ्नै गोर्खा पल्टनका केहीले राम्रो मानेनन्।
अवकाशपछिका यात्रा
अवकाश हुँदा म ४०-४२ वर्षको थिएँ। पेन्सनले नेपालमा टिक्न नसकिने भएपछि पपुवा न्युगिनीमा गन इन्डस्ट्रीमा काम गर्न पुगेँ। त्यहाँ गन किन्न आउनेलाई चलाउन सिकाउनुपर्थ्यो, उनीहरू सिकारका लागि आउँथे। गन सफा गर्ने, लोड/अनलोड गर्ने, रेन्ज हान्न सिकाउने गर्थें।
तर, कहिलेकहीँ गलत प्रयोग भई मान्छे मारिए आफू अदालत जानुपर्ने जोखिम देखेर त्यो काम छाडेँ। फर्किएर यूएन मिसन अन्तर्गत कोसोभोमा पैसा बाँड्ने काममा सेक्युरिटीको रूपमा काम गरेँ। पछि नाइजेरियामा खोलिएको बैंकको सुरक्षामा १५ वर्ष काम गरेँ।
अवकाशपछिको जोस
अहिले अवकाश जीवनमा गीत, कविता लेख्न थालेको छु। दर्जनौं गीतसंगीतहरू रेकर्ड पनि भइसकेका छन्। सासु आमा बित्दा श्रीमती धेरै भावविह्वल भएपछि ‘आमाको तिर्सना’ बोलको गीत लेखेँ। अर्को ‘शितल शितल हावा चल्दा’ भन्ने चाहिँ हङकङमा लेखेको।
‘नछोड बिन्ती हात मेरो, जब म मानिसको भीडमा हुन्छु’ गीत दुई वर्षअघि एयरपोर्टमा मौसमले फ्लाइट ढिलो हुँदा एक ब्रिटिस जोडी देखेर फुरेको हो। पल्टनको साथी सम्झेर ‘कहिले आउँछौँ यादमा तिमी’ गीत लेखेको छु। थुप्रै गीतहरू लेखेर पछिल्लो समय बिताइरहेको छु। केही संघसंस्थामा बसेर समाजसेवा पनि गर्दैछु।
जेठ १, २०८२ बिहीबार १३:०६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।