तीन दशकपछि एउटै पर्दामा सरोज र राजेश

काठमाडौं : राजेश हमाल फिल्म ‘युगदेखि युगसम्म’मा डेब्यु गर्नुअघि नेपाली फिल्म क्षेत्रमा अभिनेताका रुपमा सरोज खनालले राज गरिरहेका थिए। त्यो समयका सरोज खनाल, भुवन केसी, शिव श्रेष्ठकै रजगज चलिरहेको थियो। कतिसम्म भने सरोजलाई फिल्ममा अनुबन्ध गर्न र सुटिङमा लैजान निर्मातालाई हम्मेहम्मे पर्थ्यो। जब राजेशको अभिनेताका रुपमा ‘युगदेखि युगसम्म’बाट डेब्यु भयो, त्यसपछि सरोजको करिअरको ग्राफ ओरालो लाग्न थाल्यो।
अभिनेता हमाल र खनालले ३२ वर्षअघि अर्थात ५० सालमा ‘परिभाषा’मा सहकार्य गरेका थिए। त्यसपछि यी दुईले कहिल्यै फिल्ममा सहकार्य गरेनन्। दर्शकले कहिल्यै एउटै पर्दामा सरोज र राजेशलाई देखेनन्। दुवै चर्चाका हिसाबले हिट थिए। एकले अर्काको बजारमा कसरी प्रतिष्पर्धा गर्ने भन्नेमा नै जोड दिए। तर, उनीहरूले अभिनय गरेको फिल्म ‘परिभाषा’को ठ्याक्कै ३२ वर्षपछि हलमा देखा पर्न लागेका छन्। त्यो फिल्म प्रदर्शनमा आएको ठिक ३२ वर्षपछि सरोज र राजेश ‘नरसिंहा : अवतार’मा अभिनय गरेका छन्।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘नरसिंहा : अवतार’मा अभिनय गरेपछि अभिनेता खनाल दङ्ग परेका छन्। यस फिल्मको छायांकनका समयमा सरोजले राजेशसँग तस्विर खिचाएका थिए। जुन उनको फेसबुकमा देख्न सकिन्छ। उनले ५० सालमा अभिनय गरेको फिल्म ‘परिभाषा’ र पछिल्लो समयको ‘नरसिंहा : अवतार’को तस्विर राखेका छन्। जहाँ उनी निकै दंग देखिन्छन्। गत वर्ष उनले पहिले र अहिलेको तस्विर राख्दै भनेका छन्, ‘हामी ३१ वर्षपछि सँगै काम गर्दैछौँ...।’
यता राजेशले भने सरोजसँग अभिनय गर्दाको कुनै प्रतिक्रिया दिएका छैनन्। न उनले सामाजिक सञ्जालमा सरोजसँगको फोटो नै पोष्ट्याएका छन्। तर, सरोजले तीन दशकअघिको फिल्म ‘परिभाषा’मा काम गर्दाको क्षणलाई यतिबेला सम्झिएका छन्। उनले सम्झिएका मात्रै छैनन्।
राजेशलाई फिल्ममा निर्देशन गर्ने सरोजको धोको
सरोज खनालले अभिनेत्री करिश्मा मानन्धरलाई हिरोइन राखेर ‘बगान’ फिल्म निर्देशन गरे। फिल्म समिक्षात्मक हिसावले कमजोर भए तापनि घरेलु बक्स अफिसमा ठिकै व्यापार गरेको देखिन्थ्यो। पहिलो फिल्मले सोचे अनुसारको व्यापार नगरेता पनि उनी अर्को फिल्म निर्माणमा सोचेका थिए। उनले अब बन्ने फिल्ममा आफूसहित ५० उमेर कटेका राजेश र शिव श्रेष्ठलाई अभिनय गराउन लागेको जानकारी दिएका थिए।
डेढ वर्षअघि सरोजले हिमालय टेलिभिजनको एक कार्यक्रममा राजेशलाई आफ्नो फिल्ममा अभिनय गराउन लागेको बताएका थिए। उनले आफू र विकास आचार्यको संयुक्त निर्देशनमा बन्ने नयाँ फिल्ममा राजेशसँगै शिव श्रेष्ठलाई अभिनय गराउन लागेको भनेका थिए।
उनले भनेका थिए, ‘विकासराज आचार्य र म दुवैले संयुक्त रुपमा निर्देशन गर्न लागेका छौँ। हिजोसम्म १४ सिन लेखेर सकियो।’
गत वर्षको दशैंमा नै फिल्म थाल्ने भनेका सरोजले दुई वटा दशैं जाने समय भइसक्यो। तर, अहिलेसम्म यसको तर यो फिल्म अहिलेसम्म बनेन।
यतिबेला सरोज सोमनाथ खनालको निर्देशनमा मञ्चन हुन लागेको एक नाटकको तयारीमा जुटेका छन्। मण्डला नाटकघरमा मञ्चन हुने अनटाइटल नाटकमा अभिनय गर्न लागेका छन्।
केहि दिनअघि मण्डलामा भेटिएका सरोजले आफ्नै घरमा फर्कन लागेको बताएका थिए। त्यस कारण यस वर्षपछि सरोजले निर्देशन गर्ने भनिएको फिल्म बन्नेमा शंका नै देखिन्छ।
जेठ १, २०८२ बिहीबार १०:१२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।