अझै टेस्ट क्रिकेट खेल्न चाहन्थे विराट, तर पाएनन् छनोट समितिको साथ

अझै टेस्ट क्रिकेट खेल्न चाहन्थे विराट, तर पाएनन् छनोट समितिको साथ

एजेन्सी : टेस्ट क्रिकेटबाट सन्यास लिएका भारतीय क्रिकेटर विराट कोहलीले आगामी इङ्ग्यान्ड सिरिजका लागि तयार भए पनि मुख्य छनोटकर्ता अजित अगरकरको समर्थन नपाएपछि सन्यास लिएको दाबी बाहिरिएको छ।

भारतीय पूर्व क्रिकेटर मोहम्मद कैफले एक अन्तर्वार्तामा कोहलीले टेस्टमा आफ्नो खेल जारी नै राख्न चाहेको बताएका छन्। उनले बीसीसीआईका अधिकारीहरू र छनोटकर्ताहरूसँग पनि छलफलपछि उनले सन्यास लिएको दाबी गरे।

छनोटकर्ताहरूले उनको पछिल्लो ५-६ वर्षको प्रदर्शनलाई उद्धृत गर्दै अब टोलीमा उनको स्थान नभएको बताएका हुन सक्ने उनको भनाइ थियो।

उनले अन्तर्वार्तामा भनेका छन्,  ‘मलाई विश्वास छ कि विराट कोहली इङ्गल्याण्ड शृंखलाको लागि पूर्ण रूपमा तयार थिए, तर उनलाई अजित अगरकरको नेतृत्वमा रहेको छनोट समितिको समर्थन प्राप्त भएन।’

कोहलीले मे १२ मा इन्स्टाग्राम पोस्टमा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। तर उनले टेस्ट क्रिकेटबाट सन्यास लिनुको कुनै कारण भने खुलाएनन्।

कोहलीले अष्ट्रेलिया भ्रमणबाट फर्किएपछि र रणजी ट्रफी खेलेर आगामी टेस्टमा पुनरागमन गर्न चाहेको स्पष्ट सन्देश दिएको भए पनि बीसीसीआई र छनोटकर्ताहरूबाट समर्थन नपाएको दाबी कैफले पुन: दोहोर्याए।

विगतका वर्षहरूमा उनको प्रदर्शनलाई हेर्ने हो भने, उनको प्रदर्शनमा गिरावट आएको स्पष्ट हुन्छ। यसैबीच, उनले ६८ इनिङमा केवल २०२८ रन बनाए र केवल तीन शतक प्रहार गरे।

यस अवधिमा उनको करियरको औसत ४६ मा झर्यो। अष्ट्रेलिया भ्रमणको क्रममा, उनले पर्थमा शानदार शतक प्रहार गर्दै पुनरागमनको संकेत देखाए, तर बाँकी भ्रमणमा उनले केवल ९० रन मात्र बनाउन सफल भए र भारतले शृङ्खला १-३ ले हार्यो।

जेठ १, २०८२ बिहीबार ०८:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।