कर्नेल कुरैशीलाई आतंकवादीकी बहिनी भन्ने भाजपा नेताले माफी मागे, एफआईआर दर्ता गर्न अदालतको आदेश

कर्नेल कुरैशीलाई आतंकवादीकी बहिनी भन्ने भाजपा नेताले माफी मागे, एफआईआर दर्ता गर्न अदालतको आदेश

एजेन्सी : भारतको मध्य प्रदेश सरकारका मन्त्री विजय शाहले भारतीय सेनाकी कर्नेल सोफिया कुरेशीविरुद्ध गरेको टिप्पणीको लागि माफी मागेका छन्।

प्रदेशका आदिवासी मामिला मन्त्री विजय शाह आफ्नो अभिव्यक्तिले कुनै  समुदायको भावनामा चोट पुगेको भए त्यसको लागि हृदयदेखि माफी पनि माग्न चाहेको बताएका छन्।

उनले भनेका छन्, ‘मेरो हालैको अभिव्यक्तिले हरेक समुदायको भावनामा चोट पुर्याएको छ। त्यसको लागि म हृदयदेखि लज्जित र दुःखी मात्र छैन, माफी पनि माग्न चाहन्छु।’

हालै, कर्नेल कुरेशीले भारतीय सेनाद्वारा सञ्चालित ‘अपरेशन सिन्दूर’ बारे विंग कमाण्डर व्योमिका सिंह र भारतीय विदेश सचिव विक्रम मिश्रीसँग पत्रकार सम्मेलन गर्दा समाचारमा आएकी थिइन्।

विजय शाहले सोफिया कुरेशीलाई देशकी छोरीको रूपमा वर्णन गर्दै भने, ‘उनले राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्दै जात र समाजभन्दा माथि उठेर काम गरेकी छिन्। उनी हाम्री आफ्नै बहिनीभन्दा बढी सम्मानित छिन्।’

विजय शाहले भने, ‘हालैको भाषणमा मेरो इच्छा र उद्देश्य कर्नल सोफियाका शब्दहरूलाई समाजमा राम्रो तरिकाले पुर्याउनु थियो, तर दुःखी र विचलित मनका कारण मेरो मुखबाट केही गलत शब्दहरू निस्किए।’

‘आज म आफैँप्रति लज्जित छु। म सम्पूर्ण समाज र समुदायसँग माफी माग्छु। म सधैँ बहिनी सोफिया र देशको सम्माननीय सेनालाई सम्मान गर्छु र आज हात जोडेर, म मेरो हृदयको गहिराइबाट सबैसँग माफी माग्छु।’

बुधबार मध्य प्रदेश उच्च अदालतले विजय शाह विरुद्ध एफआईआर दर्ता गर्न आदेश दिएको छ।

मन्त्री विजय शाहले मोदी समाजको लागि बाँचिरहेको भन्दै हाम्रा छोरीहरुको सिन्दूर पुछ्नेहरुलाई मोदीले उनकै बहिनी पठाएर कडा कारबाही गरेको टिप्पणी गरे। उनले भारतीय सेनाकी कर्नेल सोफिया कुरेशीलाई बन्दुकधारीहरूको बहिनीको संज्ञा दिएका हुन्।

‘उनीहरुले कपडा उतातेर हाम्रा हिन्दूहरुलाई मारे तर मोदीजीले उनीहरुकै बहिनीलाई उनको घरमै पठाएर बदला लिए।’

जेठ १, २०८२ बिहीबार ०७:३८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।