परियोजनाको प्राथमिकीकरण र सूची अद्यावधिक गर्ने लगानी बोर्डको निर्णय

परियोजनाको प्राथमिकीकरण र सूची अद्यावधिक गर्ने लगानी बोर्डको निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको लगानी बोर्डको ६२ औं बैठकले परियोजनाहरूको प्राथमिकीकरण गर्दै सूची अद्यावधिक गर्ने निर्णय गरेको छ।

बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा प्रस्तावित परियोजनाहरूको प्राथमिकता निर्धारण गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सार्वजनिक-निजी साझेदारी परियोजना प्राथमिकीकरण समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

बोर्डका प्रवक्ता तथा सहसचिव प्रधुम्नप्रसाद उपाध्यायका अनुसार बैठकले तीन तहका सरकार तथा मातहतका निकायहरूले सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरूको कार्यान्वयन एकरूपता कायम हुने गरी आवश्यक कार्यविधि तयार गरी पेस गर्न बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।

बैठकमा दमकमा निर्माणाधीन चीन-नेपाल मैत्री औद्योगिक उद्यानको परियोजना विकास सम्झौतासम्बन्धी सहमति प्राप्त विषयहरूमा जानकारी गराउँदै बाँकी विषयहरू सम्बन्धित निकायहरूसँग छलफल गरी निष्कर्षमा पुर्याउन निर्देशन दिइएको छ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी कागजातबारे बोर्डलाई जानकारी गराइएको छ भने सेती नदी-६ अर्ध जलाशययुक्त परियोजना (४५० मेगावाट) को विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय अध्ययन गर्नका लागि सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्षका लागि थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा लगानी बोर्डसँग सम्बन्धित विषयहरू समावेश गर्न सिफारिस गरिने भएको छ।

वैशाख ३१, २०८२ बुधबार २१:५०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।