भन्सार छलेर ल्याइएको ५३ क्विन्टल गहुँ र ११ क्विन्टल चामल बरामद

भन्सार छलेर ल्याइएको ५३ क्विन्टल गहुँ र ११ क्विन्टल चामल बरामद

रौतहट : भारतबाट अवैध रूपमा भित्र्याइएको १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा र सशस्त्र प्रहरी सुरक्षा गुल्म, अलौबाट खटिएको संयुक्त टोलीले बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टी नाकामा छापा मारेर ती खाद्यान्न नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहका अनुसार ती गहुँ र चामलको कनिका खेतको छेउमा जम्मा गरी राखिएको अवस्थामा फेला परेको हो। ‘भारतबाट भन्सार छलाएर ल्याइएको खाद्यान्न खेतमै थुपारिएको अवस्थामा फेला पारिएको हो,’ उनले भने।


बरामद गरिएका खाद्यान्नको बजार मूल्य करिब दुई लाख ३१ हजार २० रुपैयाँ बराबर रहेको जनाइएको छ। बरामद सामग्रीमा ५३ क्विन्टल गहुँ र ११ क्विन्टल ६४ किलो चामलको कनिका रहेको प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरीले ती सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरीका अनुसार पछिल्लो समय भारतबाट भन्सार नतिरी खाद्यान्न ल्याउने क्रम बढिरहेकोले सीमा क्षेत्रमा निगरानी थप कडाइ गरिएको छ।

वैशाख ३१, २०८२ बुधबार २०:१८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।