औषधी खरिदमा ११ करोडको बदमासी, आठ करोडसम्म टेन्डर नगरी सिधै किनियो

काठमाडौँ : स्वास्थ्य मन्त्रालय अन्तर्गतको विभिन्न अस्पतालहरूमा औषधी खरिदमा ११ करोडसम्मको बदमासी देखिएको छ। महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले औंल्याए अनुसार एकै अस्पतालले प्रतिस्पर्धा नै नगराइ आठ करोडसम्मको औषधी सिधै किनेको खुल्यो।
अधिकांश अस्पतालहरूले सार्वजनिक खरिद कानुन अनुसार प्रतिस्पर्धा गराएर औषधी नकिनी सिधै आपूर्तिकर्ताबाट किन्ने, सम्झौता अनुसार म्याद सकिएका औषधीहरू फिर्ता गरेर त्यसको सट्टा भर्नामा म्याद कायम रहेको औषधी नलिने जस्ता गतिविधि गरेर बदमासी गर्ने गरेको प्रतिवेदनले खुलाएको छ।
सबैभन्दा ठूलो बदमासी देखियो कोशी अस्पतालमा। सार्वजनिक खरिद नियमावली अनुसार सार्वजनिक निकायले २५ लाख रूपैयाँसम्मको औषधिजन्य मालसामान सोझै खरिद गर्न सक्ने भए पनि अस्पताल प्रशासनले आठ करोडको औषधी सिधै किनेको खुल्यो।
नियमावली अनुसार ५० लाखसम्म सिलबन्दी दरभाउ पत्रको माध्यमबाट र सोभन्दा माथि बोलपत्रको माध्यमबाट किन्नुपर्नेमा अस्पताल फार्मेसीले आर्थिक वर्ष २०८०/०८१ का लागि औषधी तथा सर्जिकल सामान प्रतिस्पर्धा नै नगराइ किनेका थिए।
यसका लागि अस्पताल प्रशासनले ‘वार्षिक अनुमानअनुसार एकमुस्ट लागत अनुमान बनाई खुला बोलपत्रको माध्यमबाट खरिद गर्दा सबै आइटममा बोलपत्र दाताले प्रतिस्पर्धा नगरेको’ कारण देखाएको थियो।
‘पहिलो पटक सबै आइटममा बोलपत्र दाखिला नभए पुनः बोलपत्र आह्वान गर्नुपर्नेमा नगरी ८ करोड ६१ लाख ७१ हजारमध्ये ३ करोड ७० लाख ६९ हजार गत वर्षको टेन्डरको दरबाट र ४ करोड ९१ लाख २ हजार पटक-पटक गरी विभिन्न सप्लायर्सबाट सोझै खरिद गरेको छ’ प्रतिवेदनमा उल्लेख छ।
महालेखाले सो काम प्रचलित ऐन विपरीत प्रतिस्पर्धा सीमित हुने गरी खरिद गरेको ठहर गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यस्तै बदमासी देखियो। प्रतिष्ठानले पनि प्रतिस्पर्धा नै नगराइ औषधी, ल्याबका सामग्री र अन्य कार्यालय सामान ३ वटा कोटेसनको आधारमा ६ करोड २७ लाख ८८ हजारको सोझै खरिद गरेको देखियो। २०८१ असार महिनामा मात्र ६ करोड १६ लाख १५ हजार भुक्तानी समेत भएको थियो।
म्याद सकिएको औषधी सट्टाभर्ना छैन
महालेखाको प्रतिवेदनले देखाएको अर्को बदमासी हो म्याद सकिएको औषधी लगायतको सामानको सट्टाभर्ना। बीपी कोइराला क्यान्सर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठासम्ममा यस्तो समस्या देखियो।
बीपी प्रतिष्ठानको फार्मेसीको लागि आवश्यक सर्जिकल तथा औषधिजन्य सामग्री किन्न एक फर्मास्युटिकल्स कम्पनीसँग भएको सम्झौतामा म्याद गुज्रेका मालसामानहरू सम्बन्धित सप्लायर्सले फिर्ता गरी नयाँ सामान दिनुपर्ने उल्लेख भए पनि २७ लाख बराबरको सामान त्यसै राखेको खुल्यो।
२७ लाख ९८ हजार बराबरको औषधी तथा सर्जिकल सामानहरू म्याद गुज्रेपछि सट्टामा म्याद रहेको औषधी आपूर्ति गर्नु पर्नेमा सो नगरेको प्रतिवेदनमा उल्लेख छ।
यसै गरी विभिन्न ९ आपूर्तिकर्ताबाट खरिद गरिएका औषधीमध्ये २०८१ असार ३१ सम्ममा १ करोड १० लाख ८३ हजार मूल्यका औषधीको म्याद गुज्रेकोमा सो औषधी आपूर्तिकर्तालाई फिर्ता गरेर म्याद भएको औषधी ल्याएन प्रशासनले। महालेखाले आपूर्तिकर्ताको धरौटी तथा अन्य भुक्तानीबाट कट्टा गरी सरकारी बाँकी सरह असुल गर्न निर्देशन दिएको छ।
यस्तै बदमासी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा पनि देखियो। सम्झौतामा निकट भविष्यमा म्याद गुज्रिने तथा म्याद गुज्रेको मालसामानहरू सम्बन्धित आपूर्तिकर्तालाई फिर्ता गर्न सकिने व्यवस्था रहेको छ।
त्यसैगरि म्याद सकिएको मालसामान सम्बन्धित आपूर्तिकर्तालाई फिर्ता गरी म्याद रहेको औषधी तथा सर्जिकल सामान आपूर्ति गर्नुपर्ने वा सो बराबरको रकम भुक्तानीबाट कट्टा गर्न सकिने उल्लेख छ।
फार्मेसीको अभिलेखअनुसार विभिन्न ८ आपूर्तिकर्ताबाट किनेको ७५ लाख ७२ हजारको १ सय ८८ वटा औषधी तथा सर्जिकल्स सामानहरूको म्याद गुज्रे पनि फिर्ता भएको छैन।
चाहिने भन्दा बढी किन्ने, सामान नदिए पनि माफ
वीरमा आवश्यकताभन्दा बढी सामान किन्ने अर्को विकृति देखियो। लागत अनुमानको आधारमा सामान किन्नुपर्नेमा प्रशासनले १७ आपूर्तिकर्तासँग ७ करोड ८१ लाख ८२ हजारको खरिद सम्झौता गरेको थियो। पटक पटक म्याद थप गरेर १६ करोड ७ लाख ७१ हजारको सामान किनेको देखियो।
सामान किन्दा भने सप्लायर्सले बोलपत्र पेस गर्दा लागत अनुमानको तुलनामा अधिक दर कबोल गरेका सामान बढी किन्ने अनि सस्तो कबोल गरेका सामान कम परिमाणमा किनेर बदमासी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा यसरी बदमासी गरेर १२ ठेक्कामा प्रतिष्ठानलाई ३ करोड ३५ लाख २९ हजार थप व्ययभार पारेको उल्लेख छ।
उता नारायणी अस्पतालले एक फर्मास्यूटिकल्ससँग सम्झौता गरेको तर सम्झौता अवधिभित्र औषधी आपूर्ति नगरे पनि कुनै कारबाही नगरेको देखियो। सम्झौतामा आपूर्तिकर्ताले सम्झौता बमोजिम औषधी आपूर्ति नगरे अस्पतालले अर्को व्यवस्था गर्ने र यसबाट हुन गएको क्षति आपूर्तिकर्ताको धरौटीबाट कट्टा गरिने उल्लेख रहेको प्रतिवेदनमा उल्लेख छ।
‘आपूर्तिकर्ताले औषधी आपूर्ति नगरेका कारण अस्पतालले १ करोड ३१ लाख ८१ हजार बराबरको औषधी विभिन्न आपूर्तिकर्ताबाट सोझै खरिद गरेको छ। यसबाट अस्पताललाई ५१ लाख ८२ हजार थप व्ययभार पर्न गएकोले सम्झौताको सर्त बमोजिम आपूर्तिकर्ताबाट थप व्ययभार पर्न गएको रकम असुल गर्नु’ प्रतिवेदनमा उल्लेख छ।
वैशाख ३१, २०८२ बुधबार १९:५०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।