संविधानविरोधी क्रियाकलाप सह्य नहुने गृहमन्त्रीको भनाइ

विराटनगर : गृहमन्त्री रमेश लेखकले संविधान र लोकतान्त्रिक व्यवस्था विरोधी गतिविधि कुनै हालतमा सह्य नहुने स्पष्ट पारेका छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संविधानको विरोध गर्ने छुट कसैलाई नभएको भन्दै त्यसप्रति सरकार कडाइका साथ उभिने बताए।
संविधान कार्यान्वयनको क्रममा देखिएका कमजोरीलाई सुधार गर्न राष्ट्रिय सहमतिमा आधारित कार्यदल बनाउने तयारी भइरहेको उल्लेख गर्दै उनले आवश्यक परेमा संशोधनबारे चरणबद्ध छलफल भइरहेको जानकारी पनि दिए।
गृहमन्त्री लेखकका अनुसार गृह मन्त्रालयले विभिन्न नीतिगत र कानुनी सुधारलाई प्राथमिकताका साथ अघि बढाएको छ। उनले शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनलाई सुदृढ बनाउने योजना अन्तर्गत यसै आर्थिक वर्षमा नयाँ प्रहरी ऐन ल्याउने घोषणा पनि गरे।
उनले लागुऔषध कारोबार, आत्महत्या, सडक दुर्घटना, अवैध निकासी–पैठारी जस्ता चुनौतीहरूलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले अवैध कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रमा ३० दिने कार्ययोजना अनुसार कडा निर्देशन दिइएको उल्लेख गर्दै त्यसका कारण हाल राजस्वमा उल्लेखनीय वृद्धि भएको दाबी गरे।
वैशाख ३१, २०८२ बुधबार १८:३७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।