विदेशमा बसेर राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्तो संस्थालाई व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनए कुनै राजनीतिक संगठन नभएको भन्दै यसलाई विवादमा तान्ने प्रयास सफल नहुने बताए।
‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन। एनआरएनए जस्तो साझा संगठनलाई विभाजन गर्ने प्रयास स्वीकार्य हुँदैन। यो कुनै राजनीतिक पार्टीको संस्था होइन, यसले नेपाली समुदायको हकहित र मातृभूमिका लागि योगदान दिने उद्देश्य बोकेको संस्था हो,’ प्रधानमन्त्री ओलीले भने।
उनले एनआरएनएलाई कसले भोट हाल्छ भन्ने आधारमा हेर्नु अनुचित हुने बताउँदै यसलाई समावेशी, एकताबद्ध र सहकार्यमा आधारित संस्था बनाउनुपर्नेमा जोड दिए। ‘एनआरएनए संस्थाको भलो चिताउने, एकता चिताउने र यसलाई सबल बनाएर अगाडि बढाउने उद्देश्यमा मात्रै मेरो समर्थन हुनेछ,’ प्रधानमन्त्री ओलीले प्रस्ट पारे।
उनका अनुसार एनआरएनए विवादास्पद होइन, मेलमिलाप र सहकार्यको भावनासहित अगाडि बढ्नुपर्ने विश्वव्यापी नेपालीहरूको साझा संस्था हो। ‘यदि एकता कायम रहेन भने यसको मूल उद्देश्यहरू अधुरा रहनेछन्,’ उनले थपे।
वैशाख ३१, २०८२ बुधबार १५:२२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।